ब्राजिल कतार विश्वकपको नकआउट चरणमा

ब्राजिल कतार विश्वकपको नकआउट चरणमा

काठमाडौं । स्टार खेलाडी नेइमार बिना मैदानमा उत्रिएको ५ पल्टको विश्व च्याम्पियन ब्राजिल कतारमा जारी विश्वकपको लगातार दुई खेल जित्दै नकआउट चरणमा प्रवेश गरेको छ। ब्राजिलका खेलमा कासिमेरो नायक सावित भए।

पहिलो हाफमा खासै राम्रोे प्रदर्शन गर्न नसकेका अनुभवी कासिमेरोले खेलको ८३ मिनेटमा निर्णायक गोल गरे। उनले रोड्रिगोले डिबक्सभित्र दिएको पासमा गोल गरे। यसअघि जुनियरले टच लाइन नजिकैबाट रोड्रिगोलाई पास मिलाएका थिए।

यसअघि भिनी जुनियरले ६४ मिनेटमा गरेको गोललाई भीआरले अमान्य घोषित गरेको थियो। स्वीस डिफेन्डरलाई काटेर उनले गोल गरेका थिए। तर भीआरले उनी अफसाइड भएको जनाउ दिएको थियो।

५७ मिनेटमा जुनियरको पासमा रिचार्लिसनले गोलको अवसर चुकाएका थिए। जुनियरले स्विस गोल पोस्ट अगाडि निकालेको पासलाई छोएको भए मात्र गोल हुने थियो। तर रिचार्लिसन चुके।

नकआउट चरणमा प्रवेश गर्ने अभियानमा रहेका ब्राजिल र स्विट्जरल्याण्डबीच पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। दुवै तर्फबाट कुनै सशक्त प्रहार हुन नसकेपछि पहिलो हाफमा कुनै गोल हुन सकेको थिएन। चोटका कारण नेइमार यस खेलमा ब्राजिली टोलीमा समावेश थिएनन्।

यद्धपि ब्राजिलका लागि २७ मिनेटमा भिनी जुनियरले गोलको राम्रो मौका पाएका थिए। तर उनी गोल गर्नबाट चुके। राफिन्हाले डिबक्सभित्र मिलाएको पासलाई जुनियरले फितलो प्रयास गर्दा स्विस गोलरक्षक यान सहमरले बचाए।

ब्राजिलले दुई खेलबाट ६ अंक जोडेदै नकआउट चरणमा प्रवेश गरेको हो। ब्राजिलले यसअघि सर्वियालाई २–० गोलले पराजित गरेको थियो।