समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

काठमाडौं। क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली क्यानाडा समूह चरणको एक खेल अगावै कतार विश्वकप २०२२ बाट बाहिरिएको छ।

आइतबार राति क्रोएसियाको जितमा आन्द्रेज क्रामारिचले दुई गोल गरे। यसैगरी इभान पेरिसिच र जोसिप जुरानोभिचले एक एक गोल गरेका थिए। अल खालिफा रंगशालामा अल्फोन्सो डेभिसले क्यानाडाको लागि अग्रता दिलाएका थिए।

समूह ‘एफ’को खेलमा मोरक्कोले फिफा विश्व वरियताको दोस्रो स्थानमा रहेको बेल्जियमलाई २–० ले हराएको थियो। समूह ‘ई’को खेलमा स्पेनसँग सात गोल खाएको कोस्टारिकाले जर्मनीलाई पराजित गरेको जापानमाथि १–० को जित हासिल गर्याे।

समूह ‘एफ’मा क्रोएसिया र मोरक्को समान चार अंकका साथ नकआउट चरण प्रवेशको प्रतिस्पर्धामा अगाडि छन। बेल्जियम तीन अंकका साथ तेस्रो स्थानमा रहँदा क्यानाडाले अंकको खाता खोल्न सकेको छैन।समूहको अन्तिम खेलमा क्यानाडाले मोरक्को तथा क्रोएसियाले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछन्।