अर्जेन्टिना आज म्याराडोनाको सम्मानमा उत्रिने, मेक्सिकोलाई गोलकिपरको भर

अर्जेन्टिना आज म्याराडोनाको सम्मानमा उत्रिने, मेक्सिकोलाई गोलकिपरको भर

दोहा। विश्वकपमा टिकिरहन अर्जेन्टिनालाई आज मेक्सिकोविरूद्ध हुने खेलमा जसरी पनि जित निकाल्नु पर्ने बाध्यता छ। यस्तो अवस्थामा अर्जेन्टिनी टोलीलाई आफ्नो पूर्वस्टार दिंवगत खेलाडी डिएगो म्याराडोनाको यादले सताएको छ।

आजै म्याराडोनाको दोस्रो सतबार्षिकी पनि हो। दुई वर्षअघि उनको निधन भएको थियो। अर्जेन्टिनी प्रशिक्षक लिओनल स्कालोनीले शुक्रबार प्रतिक्रिया दिँदै भनेका छन्, ‘उनले माथिबाट हामीलाई हेरिरहेका हुने छन्।’ प्रशिक्षक स्कालोनीले म्याराडोनाको आत्माको खुसीका लागि आफूहरू मैदानमा उत्रिने बताएका छन्।

लिओनल मेसी पूर्ण रूपमा फिट नभएको अन्तर्राष्ट्रिय पत्र–पत्रिकाले दावी गरे पनि अर्जेन्टिनी प्रशिक्षकले यसको खण्डन गरेका छन्।

मेक्सिकोलाई सन् २०१९ देखि प्रशिक्षण दिइरहेका अर्जेन्टिनाका पूर्व खेलाडी गेरार्डो मार्टिनेज मेसीको खेलबाट परिचित छन्। उनले मेसीको सुरुवाती दिनमा बार्सिलोनामा प्रशिक्षण गरेका थिए। यस्तो अवस्थामा मेक्सिको आजको खेलमा घातक बन्ने सम्भावना छ।

अर्जेन्टिनाले अन्तिम चोटी विश्वकप मेक्सिकोमै उचालेको थियो। सन् १९८६ मा म्याराडोनाकै प्रेरणादायी प्रदर्शनले उसले दोस्रो पल्ट विश्वकपमा कब्जा जमायो। त्यसयता अर्जेन्टिनाको विश्वकप यात्रामा खडेरी लागेको छ।

मेसीको उत्कृष्ट प्रदर्शनमा सन् २०१४ मा अर्जेन्टिना फाइनल प्रवेश गरे पनि मारियो गोट्जेको गोलका कारण अतिरिक्त समयमा पुगेर विश्वकप ट्रफी जर्मनीलाई बुझाउनु परेको थियो।

यसपालि अर्जेन्टिनालाई विश्वकपको दावेदार मानिएको छ। तर, पहिलो खेलमै एसियाली राष्ट्र साउदी अरेबियासँग २–१ गोलको अप्रत्यासित नतिजा भोगेपछि यो देश दबाबमा छ। यसको ठिक उल्टो मेक्सिकोले समूह ‘सी’ अन्तर्गत पहिलो खेलमा पोल्याण्डसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको छ।

सन् १९९० मा विश्व बिजेताको रूपमा इटाली खेल्न पुगेको अर्जेन्टिनालाई अफ्रिकी राष्ट्र क्यामरुनले १–० ले स्तब्ध बनाएको थियो। त्यसका बाबजुद अर्जेन्टिना विश्वकपको फाइनल पुग्यो।

यतिबेला अर्जेन्टिनाको पक्षमा यही कोणबाट पनि विश्लेषण भइरहेको छ। तर, साना मानिएका देशहरूले कतार विश्वकपमा जसरी प्रभावशाली प्रदर्शन गरिरहेका छन्, यसले अर्जेन्टिनाको बाटो त्यति सहज देखिदैन।

विश्वकपमा अर्जेन्टिना र मेक्सिकोको प्रतिद्धन्द्धिता नयाँ होइन। यी दुई देश यसअघि पनि दुई पल्ट भिडिसकेका छन्। तर, दुवै पल्ट अर्जेन्टिनाको जित भएको छ। अर्जेन्टिनाले २००६ र २०१० मा नकआउट चरणमा पराजित गर्दै मेक्सिकोलाई घर पठाएको थियो।

नेपाली समयअनुसार राती पौने एक बजेदेखि सुरु हुने अर्जेन्टिना र मेक्सिकोबीचको खेलमा अर्जेन्टिनी स्टार मेसी र मेक्सिकोका गोलरक्षक गुइलेर्मो ‘मेमो’ ओचोवाको खेल सबैको लागि आकर्षण बन्ने पक्का छ।

सन् २००६ र २०१० मा मेक्सिको टिममा समावेश भए पनि ओचोवाले मौका पाएका थिएनन्। ३७ वर्षको उमेरमा हाल उनले राष्ट्रिय टोलीको गोलपोस्ट रक्षा गर्ने जिम्मा मात्र पाएका छैनन्, उनी टिमको कप्तान पनि हुन्।

सन् १९७८ को विश्वकप पहिलो पल्ट जितेयता अर्जेन्टिना एक पल्ट मात्र समूह चरणको खेलबाट बाहिरिएको छ। यसबाहेक उ सधै नकआउट चरणमा प्रवेश गरेको छ। सन् २००२ मा एसियाली राष्ट्र जापान र दक्षिण कोरियाको संयुक्त आयोजनामा भएको विश्वकपमा मात्र उ पहिलो चरणबाट बाहिरिएको थियो।

आजको खेलमा मेसीसँगै लाउटारो मार्टिनेज र एञ्जल डि मारियाले अग्रपंक्तिमा राख्दै अर्जेन्टिनाले सुरुवाती–११ मैदानमा उतार्ने सम्भावना प्रबल छ। डिफेन्समा म्यानचेस्टर युनाइटेडका लिसान्द्रो मार्टिनेज पनि सुरुमै टिममा फर्किने आशा गरिएको छ। चोटका कारण पहिलो खेलमा उनी बेञ्चमा थन्किएका थिए। साउदीविरूद्धको खेलमा टोटेनहामका क्रिस्टियन रोमेरोलाई अर्जेन्टिनाले मैदानमा उतारेको थियो। तर, उनको गल्तीका कारण साउदीले दोस्रो हाफको सुरुवातमै दुई गोल फर्काएको थियो। उनलाई आज विश्राम दिने सम्भावना छ।

मेक्सिकोले पनि आजको खेलमा हेनरी मार्टिनको अगुवाईमा अग्रपंक्तिमा इर्विङ लुजानो र एलेक्सिस भेगालाई उतार्ने सम्भावना प्रबल छ।