दक्षिण कोरिया र उरुग्वेलाई ‘फरवार्ड फिटनेस’को चिन्ता

दक्षिण कोरिया र उरुग्वेलाई ‘फरवार्ड फिटनेस’को चिन्ता

काठमाडौँ। विगत तीन हप्तादेखि स्टार फरवार्ड सन ह्युङ–मिनको फिटनेस दक्षिण कोरियाको चिन्ताको विषय बनेको थियो। तर, कतार विश्वकपअन्तर्गत समूह ‘एच’ को पहिलो खेलमा दुई पटकको विश्वविजेता उरुग्वेविरुद्ध बिहीबार उनी मैदान उत्रिने सम्भावना बढेको छ।

नोभेम्बर १ मा युईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको निर्णायक खेलमा इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामले विजय हात पार्दा सन फ्रान्सेली क्लब मार्सेलीका रक्षक चान्सेल एमबेम्बासँग जुध्न पुगेका थिए। गालामा लागेको चोटले उनी गम्भीर घाइते हुन पुगे। चोटका कारण सनले नोभेम्बर २ देखि खेलेका छैनन्। उनले गालाको हड्डीको शल्यक्रिया गराएका छन् र सुरक्षा सावधानीको रूपमा अनुहारमा मास्क लगाएर कतारमा अभ्यास गरिरहेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्। उनले उरुग्वेविरुद्ध पनि मास्क लगाएर खेल्ने अपेक्षा गरिएको छ।

दक्षिण कोरियाका मुख्य प्रशिक्षक पाउलो बेन्टो आफ्ना भरपर्दा फरवार्ड सन मैदान उत्रिनसक्ने अवस्थामा रहेको बताउँछन्। तर, उनलाई कति खेल खेलाउने भन्नेबारे अहिले नै छलफल भइनसकेको उनले जानकारी दिए।

“प्रशिक्षणमा फर्किएदेखि चोटका कारण उनले कुनै हेडर गर्ने प्रयास गरेका छैनन्। त्यसैले उनले कोरियाका लागि हरेक खेल खेल्छन् भनेर भन्न सकिन्न”, उनको भनाइलाई उद्धृत गर्दै द स्पोर्ट्स टकले लेखेको छ, “शल्यक्रियापछि यति छिट्टै मैदान उतार्दा जोखिम बढ्नसक्छ।”

दक्षिण कोरियालाई कतार विश्वकपमा पुर्‍याउने ३० वर्षे सन महत्त्वपूर्ण खेलाडी हुन्। उरुग्वेविरुद्धको खेलमा सन मैदान उत्रिए पार्क जी–सुङपछि तीन अलग–अलग विश्वकपमा गोल गर्ने दोस्रो कोरियाली खेलाडी बन्न सक्छन्।

सन् २०१० मा दक्षिण कोरियाको सिनियर राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनले १०४ खेल खेल्दै ३५ गोल गरिसकेका छन्। राष्ट्रिय टोलीबाट मात्रै होइन, उनी व्यावसायिक फुटबलमा पनि उत्तिकै उत्कृष्ट कहलिएका खेलाडी हुन्। सन् २०१५ देखि टोटनह्यामबाट व्यावसायिक फुटबल खेल्दै आएका सनले २४५ खेलमा ९६ गोल गरिसकेका छन्। गत सिजनमा उनी र लिभरपुलका फरवार्ड मोहम्मद सलाहले प्रिमियर लिगको ‘गोल्डेन बुट’ संयुक्तरूपमा जितेका थिए।

तर, सन यसपटक लयमा छैनन्। १३ प्रिमियर लिग खेलेका सनले मात्रै तीन गोल गरेका छन्। यता, च्याम्पियन्स लिगका ६ खेलमा उनले दुई मात्रै गोल गरेका छन्।

“सनले मास्क लगाएको कुरा सत्य हो। उसलाई खेल्न कुनै असहज महसुस भएको छैन”, बेन्टोले थपे, “उनले खेल्न सक्छन् या सक्दैनन् हामी हेर्छौं।”

सन मैदान उत्रिन नसके दक्षिण कोरियाको प्रदर्शन कस्तो रहन्छ, त्यो भने हेर्नलायक हुनेछ। दक्षिण कोरियाका अर्का फरवार्ड ह्वाङ हे-चान यसपटक सनजस्तै लयमा देखिएका छैनन्। उनले यस सिजन इंग्लिस प्रिमियर लिग क्लब स्ट्रगलर्स वुल्भ्सबाट ११ खेल खेलिसक्दा एक गोल पनि गर्न सकेका छैनन्। यता, ओलम्पियाकोसबाट खेल्दै आएका ह्वाङ उइ-जोको प्रदर्शन पनि सम्झनलायक छैन।

दक्षिण कोरियालाई जस्तै दुई पटकको विश्वविजेता उरुग्वे पनि आफ्नो अनुभवी फरवार्डबारे चिन्तित छ। उसका भरपर्दा फरवार्ड एडिन्सन काभानीले खुट्टाको चोटका कारण पहिलो खेल गुमाउनसक्ने आकलन गरिएको छ। तर, अर्का भरपर्दा भेट्रान फरवार्ड लुइस सुआरेज भने फिट छन्। क्याटलान क्लब बार्सिलोनाबाट बाहिरिएसँगै खराब लयमा रहेका सुआरेज अहिले एथ्लेटिको मड्रिड हुँदै उरुग्वेको घरेलु लिग खेल्न पुगेका छन्।

उरुग्वेयन प्राइमेरा डिभिजन क्लब नेशनलबाट खेल्दै आएका ३५ वर्षीय सुआरेजले १४ खेलमा ८ गोल गर्दै खराब लयको दाग मेटाउने प्रयास गरिरहेका छन्। तर, ढल्कँदो उमेरसँगै राम्रो क्लब पाउन छाडेका सुआरेज सुखद सन्न्यासको पर्खाइमा रहेका छन्। सम्भवतः उनको कतार विश्वकप नै अन्तिम हुनेछ।

“उरुग्वेको जर्सी लगाउन पाउनु नै सुआरेजका लागि ठूलो कुरा हो। उनी बिग्रिएका सबै चीज ठिक गर्न चाहन्छन्, उसको यो स्वभाव नै हो। उनीसँग आफूलाई प्रमाणित गर्ने थप मौका यसपछि हुने छैन। किनभने उनको यो नै अन्तिम विश्वकप हो”, मुख्य प्रशिक्षक डिएगो अलोन्सोले भनेका छन्।

सुआरेज उरुग्वेबाट विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने सूचीमा दोस्रो स्थानमा रहेका छन्। सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकपबाट नियमित उरुग्वेबाट खेल्दै आएका उनले ७ गोल गरेका छन्। उनीभन्दा अगाडि उरुग्वेका पूर्वफरवार्ड ओस्कार ओमार मिगुएज एन्टोन रहेका छन्। सन् १९५० मा उरुग्वेलाई दोस्रोपटक विश्वकप जिताउँदा र सन् १९५४ को विश्वकपमा चौथो बनाउँदा उनले राष्ट्रिय टोलीबाट कीर्तिमानी ८ गोल गरेका थिए।

उनलाई सन् २००७ मा उरुग्वेको सिनियर राष्ट्रिय टोलीमा डेब्यू गरेका सुआरेजले पछ्याइरहेका छन्। सुआरेजले उरुग्वेको राष्ट्रिय टोलीबाट सबैखाले प्रतियोगितामा हालसम्म १३४ खेलमा ६८ गोल गरिसकेका छन्।

काभानी र सुआरेजको फिटनेसलाई लिएर मुख्य प्रशिक्षक अलोन्सो चिन्तित रहेपनि उरुग्वे कागजमा भने कमजोर मान्न सकिन्न। उरुग्वेमा काभानी र सुआरेजबाहेक प्रिमियर लिग क्लब लिभरपुलका मुख्य फरवार्ड डार्बिन नुनेज आशलाग्दो खेलाडी हुन्। प्रिमियर लिगका १० खेलमा ५ गोल गरिसकेका नुनेजले सजिलै विपक्षी टोलीको डिफेन्ड लाइनलाई समस्या पार्नसक्ने क्षमता राख्छन्।

इतिहास हेर्ने हो भने उरुग्वे दक्षिण कोरियामाथि हाबी हुँदै आएको छ। उरुग्वेले एशियाली राष्ट्रविरुद्धको विश्वकपका चारवटै खेल जितेको छ। तीमध्ये तीनमा क्लिन सिट राखेको छ। सन् २०१० को विश्वकपमा उरुग्वे अन्तिम १६ मा दक्षिण कोरियालाई २–१ ले हराएर क्वार्टरफाइनल पुगेको थियो। उक्त प्रतियोगितामा उरुग्वे सेमिफाइनलमा नेदरल्यान्ड्स र तेस्रो स्थानका लागि भएको खेलमा जर्मनीसँग समान ३–२ गोलले पराजित भएको थियो।

एजेन्सीको सहयोगमा