पूर्वप्रहरीहरूको संसद छिर्ने रहरमा ‘धक्का’

पूर्वप्रहरीहरूको संसद छिर्ने रहरमा ‘धक्का’

काठमाडौं। ४ मंसिरमा सम्पन्न आम निर्वाचनको नतिजा धमाधम आइरहेको छ। ठूला ठानिएका दलहरूलाई कतिपय स्थानमा निकै कमजोर मानिएका उम्मेदवारले टक्कर दिएका छन्।

चुनावमा उम्मेदवारीको घोषणा भइरहँदा नै योपालि फरक दृष्य देखिएका थिए। पार्टीका भन्दा निकै बढी स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा देखिए।

त्यही उम्मेदवारहरूको भीडमा थिए केही पूर्वप्रहरी अधिकारीहरू। स्वतन्त्रबाट होइन कतिपय पुराना र स्थापित दलबाट, केही नयाँ स्थापना भएका दलबाट।

तर, संसदसम्म छिर्ने अधिकांश पूर्वप्रहरी अधिकारीहरूको रहरलाई मतदाताले अनुमोदन गरेका छैनन्। अधिकांशले हारको सामना गर्नुपरेको देखिन्छ।

चुनावअघि निकै चर्चामा थिए, पूर्वडिआइजी रमेश खरेल। प्रहरी सेवामा छँदा ‘गुण्डा’ हरूलाई तह लगाएका खरेलले राम्रै ख्याति कमाएका थिए। प्रहरी सेवा छँदाखेरीको उनको त्यो ओज यसपालिको चुनावमा देखिएन। मतदाताबाट अनुमोदित भएनन् र चुनावमा हार बेहोर्नुपर्‍यो।

सुशासन पार्टी नेपालका अध्यक्ष खरेलको सांसद बन्ने प्रयास यो पटकको निर्वाचनमा असफल भएको छ। काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका उनी चौथौं स्थानमा समेटिए।

कांग्रेस उम्मेदवार प्रकाशमान सिंह ७ हजार १ सय ४३ मत ल्याएर पहिलो हुँदा खरेलले ३ हजार १ सय २४ मतमात्रै ल्याए। लगातार २९ वर्ष प्रहरी सेवामा रहेका खरेलले राजनीतिमा भइरहेको भ्रष्ट्राचार अन्त्य गर्ने बताइरहे पनि बहुमत जनातको मन भने जित्न सकेनन्।

यसअघि २०७४ को चुनावताका खरेल प्रहरी सेवामै थिए। तत्कालिन सरकारले डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि २०७४ चैत २८ गते खरेलले राजीनामा दिएका थिए।

राजनीतिक रूपमा आसेपासेलाई बढुवा गरेको असन्तुष्टि पोख्दै राजनीति गर्ने प्रण गरेका खरेलले पहिलो चोटी संसद छिर्ने सपना भने पुरा गर्न सकेनन्।
उनले चुनावमा आफ्नो हारको कारण कारण अन्य दलसँग गरेको भद्र सहमति पूरा नभएको प्रतिक्रिया दिएका छन्।

प्रहरी सेवामा छँदा संगठनको प्रमुखका लागि खरेलसँग टसल परेका सर्वेन्द्र खनालको पनि संसद छिर्ने प्रयास असफल भएको छ।

तीन दशक प्रहरी सेवामा रहेका खनाल पनि आफ्नो कार्यकालमा निकै चर्चा कमाएका पूर्वप्रहरी अधिकारी हुन्। धनुषाका प्रहरी प्रमुख भएकाबेला मधेसमा सक्रिय भूमिगत समूहलाई निस्तेज पार्न खेलेको भूमिकाले उनी चर्चामा आएका थिए।

उनकै कार्यकालमा धनुषामा प्रहरीसँगको भीडन्तमा पाँच जना भूमिगत समूहका नेता मारिएका थिए। हुनत कतिपयले प्रहरीको त्यो कारबाहीलाई भीडन्त नभनेर ‘इनकाउन्टर’ भनेका थिए।

धनुषापछि एससपी बनेर पर्सा पुगेकाबेला पनि उनले राम्रै चर्चा बटुले।

प्रहरी प्रमुखबाट अवकाश पाएका खनाल राजनीतिमा होमिने उद्देश्यका साथ चुनावअघि नेकपा एमालेमा प्रवेश गरे। अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका थिए।

एमाले प्रवेश गरेसँगै खनालले प्रतिनिधिसभा सदस्यका लागि टिकट पनि पाए।

एमालेको टिकट लिएर काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनावी मैदानमा उत्रिएका खनालको संसद छिर्ने सपना पूरा हुनसकेन। पहिलोपटक चुनाव लडेका खनाल अन्ततः यो क्षेत्रबाट पराजित भएका छन्।

संसद छिर्ने पूर्वप्रहरी प्रमुख खनालको सपनालाई राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले तुहाइ दिएका छन्। शिशिरले १४ हजार २०४ मत ल्याउँदा पूर्वप्रहरी प्रमुख खनाल ८ हजार ९११ मतमा समेटिए।

२०७४ चैत २७ गते नेपाल प्रहरीका २६ औं प्रहरी प्रमुख आइजी नियुक्त भएका खनालले २०७६ माघ २८ गते अवकाश पाएका थिए।

प्रहरीको महानिरीक्षक पदकै विवादबाट प्रहरी संगठन छाडेका नवराज सिलवाल पनि राजनीतिमै छन्। नेपाल प्रहरीका तत्कालीन डिआइजी नवराज सिलवाल अघिल्लो चुनावको मुखमा २०७४ असोज २० गते एमाले प्रवेश गरेका थिए।

त्यतिबेला सरकार र अदालतले आफूलाई आइजी हुन रोकेको भन्दै राजनीतिमा आएका थिए, सिलवाल। त्यही प्रकरणमा चर्चित बनेका सिलवाल ललितपुर–१ बाट विजयी हुँदै सांसद बने।

तर, दोस्रो पटक पनि संसद छिर्ने उनको सपनामा भने धक्का लागिसकेका छ। पहिलोपटक आफैंले हराएका कांग्रेसका उदय शम्मेर जबराले योपटक सिलवाललाई पछारिदिएका छन्।

कांग्रेसका उम्मेदवार जबरा २३ हजार ८ सय ९२ मत ल्याएर विजयी भएका छन् भने सिलवालले भने १९ हजार २ सय ७८ मत मात्र ल्याएका छन्।

पुराना पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले भने यसपटकको निर्वाचनमा अग्रता लिइरहेका छन्। नवलपरासी ९पश्चिम० क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रहेका उनको जित लगभग पक्का छ। पछिल्लो मतपरिणाम अनुसार २१ हजार २०१ मत ल्याएर अग्रस्थानमा छन्।

उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका देवेन्द्रराज कँडेलले १२ हजार ३१८ मत ल्याएका छन्। प्रधान २०५६ सालको आम निर्वाचनबाट राजनीतिमा होमिएका थिए।

नवलपरासी ४ मा २०६४ र ७० को निर्वाचनमा लडेका उनले संसद भने छिर्न पाएका थिएनन्। त्यसपछि २०७४ मा राप्रपा प्रजातान्त्रिकबाट समानुपातिकमा सिफारिस भएका प्रधान पार्टीले थ्रेसहोल्ड कटाउन नसकेपछि सांसद बन्न सकेका थिएनन्।

त्यस्तै प्रहरी सेवाबाट राजनीतिमा होमिएर संसद छिर्ने प्रयासमा छन् पूर्वप्रहरी निरीक्षक रामप्रकाश चौधरी।

प्रहरी सेवाबाट अवकाश पाएर राजनीतिमा होमिएका चौधरी सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।

त्यो क्षेत्रमा अग्रता कायम गरेका उनको जित लगभग पक्का जस्तै देखिएको छ। मतगणनाको पछिल्लो परिणामअनुसार २० हजार २१५ मतसहित उनले अग्रता कायम गरेका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका उनका निकटतम प्रतिद्वन्द्वी मानबहादुर खड्का १५ हजार ३८१ मत ल्याएर पछाडि छन्।