इरानमाथी इंग्ल्यान्डको आधा दर्जन गोल
काठमाडौं । फिफा विश्वकप कतार २०२२ समूह बी को पहिलो खेलमा इंग्ल्यान्डले सानदार सुरुवात गरेको छ । खलिफा रंगशालामा भएको खेलमा इरानलाई ६-२ ले पराजित गर्दै इंग्ल्यान्डले सानदार सुरुवात गरेको हो ।
युवा खेलाडी जुड बेलिङघमले खेलको ३५ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । उनले ल्यूक शाको पासमा उफ्रिएर हेडीङ गर्दै बल गोलपोस्टमा हानेका थिए । उनको हेडर गोलका कारण इंग्ल्याण्डले खेलमा १–० को अग्रता लियो । त्यसपछि बुकायो साकाले इंग्ल्याण्डको अग्रता दोब्बर पारेका थिए । उनले खेलको ४३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ह्यारी मागुइरेको पासमा साकाले बायाँ खुट्टाले बललाई सीधै गोलपोस्टमा प्रहार गरेका थिए ।
इरानी गोलकिपर घाइते भएका कारण ४५ मिनेटपछि दुवै टोलीले १४ मिनेट अतिरिक्त समय पाएको थियो । इंग्ल्यान्डका लागि रहिम स्टर्लिङले इन्जुरी समयमा गोल गरे । उनले ४५ प्लस १ मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ३–० को अग्रता दिलाए । कप्तान ह्यारी केनको पासमा स्टर्लिङले उत्कृष्ट गोल गरेका थिए । विश्वकपमा उनको यो पहिलो गोल हो ।
पहिलो हाफ सकिदा इंग्ल्यान्डले खेलमा ३–० को अग्रता बनायो । टोलीका लागि जुड बेलिङ्घम, बुकायो साका र रहिम स्टर्लिङले पहिलो हाफमा गोल गरे । खेलको ४८ औं मिनेटमा इंग्ल्यान्डका कप्तान ह्यारी केन घाइते भएका थिए । उनीविरुद्ध फल गर्ने इरानका मोर्तेजीलाई पहेँलो कार्ड देखाइएको थियो ।
इंग्ल्यान्डका पूर्वकप्तान डेभिड बेकह्याम पनि खलिफा रंगशालामा खेल हेर्न गएका थिए । यस क्रममा उनले फिफा अध्यक्ष जियानो इन्फान्टिनोलाई भेटेका थिए । इंग्ल्याण्डले गरेको गोलको समयमा बेकह्याम खुशीले उफ्रँदै गरेको देखिएको थियो ।
खेलको ६२ औं मिनेटमा इंग्ल्याण्डले इरानमाथी ४–० को अग्रता बनायो । टोलकिा लागि बुकायो साकाले ब्यक्तिगत दोस्रो गोल गरे । रहिम स्टर्लिङको पासमा साकाले सहज गोल गरेका थिए । खेलमा २० मिनेटभन्दा बढी समय बाँकी रहदा इरानका लागि मेहदी तारेमीले पहिलो गोल गरेका थिए । उनले घोलिजादेहको पासमा खेलको ६५ औं मिनेटमा उत्कृष्ट गोल गरे । यो सँगै इरानले इंग्ल्याण्डसँगको अग्रता ४-१ ले घटाएको थियो ।
इंग्ल्याण्डले खेलको ७० औं मिनेटमा टोलीमा चार परिवर्तन गरेको थियो । घाइते भएका ह्यारी मागुइरे मैदान बाहिर निस्केपछि उनको ठाउँमा एरिक डायरलाई मैदानमा पठाइएको थियो। डायरसँगै अलावा मार्कस रासफोर्ड, ज्याक ग्रेलिश र फिल फोडेनपनि मैदान प्रवेश गरेका थिए । इंग्ल्याण्डले दुई गोल गर्ने बुकायो साका, एक गोल गर्ने रहिम स्टर्लिङ र मेसन माउन्टलाई मैदान बाहिर बोलाएको थियो ।
खेलको ७० औं मिनेटमा मैदान प्रवेश गरेका मार्कस रासफोर्डले लगतै गोल गरेका थिए । उनले ७१ औं मिनेटमा कप्तान ह्यारी केनको पासमा उत्कृष्ट गोल गरेका थिए । खेलको ७५ औं मिनेटमा केनलाई मैदानबाट बाहिर निकालिएको थियो । उनको ठाउँमा क्यालम विल्सनलाई पठाइयो । यसरी इंग्ल्याण्डले आफ्नो पाँचै सब्स्टिच्युट खेलाडीलाई मैदानमा उतारेको थियो । ह्यारी केनको बाहिरिएपछि किरन ट्रिपियरले कप्तानी सम्हालेका थिए ।
म्यानचेस्टर सिटीका लागि क्लब फुटबल खेल्ने ज्याक ग्रिलिशले इंग्ल्यान्डका लागि छैटौं गोल गरे । उनले ९० औं मिनेटमा क्यालम विल्सनको पासमा गोल गरेका थिए । इंग्ल्याण्डले विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शनको बराबरी गरेको छ । सन् २०१८ को विश्वकपमा उसले पानामालाई ६–१ ले हराएको थियो ।
त्यसपछि मेहदी तारेमीले दोस्रो हाफको अतिरिक्त समयमा इरानको लागि दोस्रो गोल गरे । योसँगै इंग्ल्याण्डले २०२२ को विश्वकप यात्रामा विजयी सुरुवात गरेको छ ।