रूसी आक्रमणका कारण एक करोड युक्रेनी बिजुलीबाट बञ्चित

रूसी आक्रमणका कारण एक करोड युक्रेनी बिजुलीबाट बञ्चित

काठमाडौं। रूसले गरेको नयाँ क्षेप्यास्त्र आक्रमणका कारण कम्तीमा सात जना मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसद्वारा गरिएका पछिल्लो क्षेप्यास्त्र आक्रमणहरूपछि एक करोड युक्रेनीहरू विद्युत आपूर्तिबाट बञ्चित हुन पुगेको जनाएका छन्।

आक्रमणमा कम्तीमा सात जना मारिएको र त्यो संख्या अझ बढ्नसक्ने बताइएको छ।

‘हामीले आपूर्ति व्यवस्था सामान्य तुल्याउन हरेक प्रयास गरिरहेका छौं,’ जेलेन्स्कीले आफ्नो सम्बोधनमा भनेका छन्।

जापोरिजाको दक्षिण पश्चिमतर्फ पर्ने निकोपोल सहर क्षेत्रमा ७० वटा बम प्रहार भएका छन्। त्यहाँका हजारौं घरहरूमा पानी र बिजुली आपूर्ति बन्द छ।

उनले युक्रेनी हवाइ प्रतिरक्षा प्रणालीले ६ वटा क्रुज क्षेप्यास्त्र र पाँचवटा ड्रोनहरू निस्तेज तुल्याइदिएको बताए।

रूसले युक्रेनमाथि बिहीबार क्षेप्यास्त्र आक्रमणहरू गरेको थियो।

अहिलेसम्मकै भयानकमध्ये पर्ने बम आक्रमणहरू गरेको दुई दिनमै गरिएको उक्त आक्रमणको निशानामा सर्वसाधारणका भवन र ऊर्जा केन्द्रहरू परेका छन्।

प्रधानमन्त्री डेनिस श्मिहालले क्षेप्यास्त्र उत्पादन गर्ने कम्पनी आक्रमणमा परेको बताए।

युक्रेनी राष्ट्रपतिका अनुसार दक्षिणी सहर जापोरिजा नजिकै रहेको अपार्टमेन्टको एक भागमा क्षेप्यास्त्र प्रहार हुँदा सात जना मारिएका छन्।
अर्का अधिकारीले किशोर किशोरीसहित २३ जना घाइते भएको जानकारी दिएका छन्।

पूर्वमा रहेको एउटा ग्यास उत्पादन केन्द्र र डिनिप्रोस्थित एउटा क्षेप्यास्त्र फ्याक्ट्रीलगायतलाई निशाना बनाइएको अधिकारीरूको भनाइ छ।

ऊर्जा आपूर्ति बन्दको मारमा खास गरी राजधानी कियभ, पश्चिमी सहर भिनित्स्या, दक्षिण पश्चिम तटीय सहर ओदेसा र उत्तर पूर्वी सहर सुमीका बासिन्दा छन्।

सरकारी स्वामित्वको ऊर्जा निकाय नफ्तोग्याजले देशको पूर्वमा रहेका ऊर्जा केन्द्रहरू भयानक आक्रमणमा परेको जनाएको छ।