बेल्जियमका युट्युबरले गरे इलामको बाल अनाथालयमा सहयोग
मङ्गलबारे। युट्युबर टिम टेन्सले इलामको राहशल बाल अनाथालयलाई आर्थिक सहयोग गरेको छ। बेल्जियमबाट नेपाल घुम्न आएका टेन्सले युट्युब च्यानलबाट अक्टोबर महिनामा कमाएको एक लाख ३५ हजार (एक हजार युरो) सहयोग गरेका हुन।
इलाम नगपालिका–९ मा रहेको बाल अनाथालय पुस्कतकालय निर्माणमा सहयोग खर्च हुने उनको भनाइ छ। साथै क्विन इलाम पर्यटन प्रवद्र्धन समिति, गायक कविराज निरौला र राहशल अनाथालय सञ्चालक समितिको सहयोगमा अनाथालयका १६ जना बालबालिकालाई पर्यटकीय क्षेत्र कन्याम, अन्तु लगायतका ठाउँमा एकदिने भ्रमणसमेत गराएका छन।
नेपालका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणपश्चात् इलाम आएका उनको युट्युबमा १० हजार सस्क्राइबर भएको खुसियालीमा टेन्सले बालबालिकाका निम्ति सहयोग गरेको बताए।
पर्यटन सूचना केन्द्रको भ्रमणपछि इलामका विभिन्न पर्यटकीय क्षेत्र घुमेका टेन्सले क्विन इलामको सहयोगमा थप ठाउँहरूमा समेत भ्रमण गरेका थिए।
इलाम सदरमुकाममा नजिक पर्यटकीयस्थलहरूको भ्रमण गरेका उनले सो क्षेत्रको प्रचारसमेत गर्ने बताए। उनले जिल्लाका विभिन्न स्थलबारे भिडियोमार्फत् प्रचारसमेत गरिरहका छन।