यु–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने
काठमाडौं। दक्षिण एसियाली मुलुक नेपाल र बंगलादेशले सन् २०२७ को आईसिसी महिला यु १९ विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसिसीले आइतबार विभिन्न उमेर समूहको विश्वकप आयोजना गर्ने राष्ट्र निर्धारण गरेको हो।
नेपाल र बंगलादेशले संयुक्त रूपमा यु–१९ महिला विश्वकप आयोजना गर्न स्विकृत पाएका छन्। बंगलादेश आयोजक हुनेछ भने नेपाल सहआयोजक हुने क्यानले जनाएको छ।
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पहिलो पटक विश्वकप आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए। उनले आयोजनाको लागि ठूलो लबिइङ गरेको बताए। ‘एकदम गौरवको विषय हो। यो चार वर्ष पछि आयोजना हुने हो। एकदमै ठूलो ‘लबिइङ’का बीच आयोजना गर्न पाएका हौं,’ चन्दले भने।
आईसिसीले नेपाललाई प्रतियोगिता आयोजना गर्न कम्तीमा पाँच मैदान आवश्यक पर्ने बताएको छ। जसमध्ये दुई मैदानमा खेल हुनेछन् । मैदान र खेलस्थल टुंगो लाग्न बाँकी छ। क्यानले काठमाडौंको त्रिवि खेल मैदान र मूलपानीसहित पोखरा मैदान, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय मैदान र भैरहवा मैदानको नाम आइसिसीलाई बुझाएको छ।
यसैगरी सन् २०२५ को यु–१९ महिला विश्वकप मलेसिया र थाइल्यान्डले आयोजना गर्दा सन् २०२४ को यु १९ पुरुषको आयोजना श्रीलंका, सन् २०२६ को जिम्बाव्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्।