डोटीमा केन्द्रविन्दु भएर गएको भूकम्पले गर्यो यस्तो क्षति ?
डोटी। राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
भूकम्पमा परी ६ जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशको डोटीमा भूकम्पमा परी ६ जनाको ज्यान गएको छ।
मंगलबार राति र बुधबार बिहानको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो भने भने ५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया तुलछी बोहराको ज्यान गएको छ। भूकम्पले घर भत्किँदा मानवीय क्षति भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई बुधबार बिहान ६.६ म्याग्निच्युडको भूकम्प गएको हो।डोटीमा मंगलबार राति पनि भूकम्प गएको थियो।
सेना र प्रहरी भूकम्पबाट प्रभावितको उद्धारमा
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ। रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन्।
डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ।
भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गरेका छन। गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाएका छ जनाप्रति उनले दुःख व्यक्त गरेका हुन।
भूकम्पका घाइतेको तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले भूकम्पमा परी घाइते भएकाको यथाशीघ्र अस्पतालसम्म पुर्याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन। गएराति डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाइ भूकम्प गएको थियो।
उनले घाइतेको उपचारका लागि हेलिकप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल प्रबन्ध मिलाउन निर्देशन समेत दिए। गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइते हेलिकप्टरबाट उद्धार गर्न निर्देशन दिएका हुन।