एनआरएनएद्धारा एमाले निकट प्रवासी नेपालीको सम्मानमा चियापान

एनआरएनएद्धारा एमाले निकट प्रवासी नेपालीको सम्मानमा चियापान फोटो : भक्त गुरुङको सामाजिक सञ्जालबाट

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेकपा एमाले निकट प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारीको सम्मानमा चियापान गरेको छ।

सोमबार वालुवाटारस्थित सचिवालयमा संघका कार्यकारी अध्यक्ष रवीना थापा र अर्का अध्यक्ष डा. बद्री केसीले चियापान गराउँदै उनीहरुलाई सम्मान गरेका हुन्।

प्रवासी नेपाली मञ्च नेकपा एमालेको प्रवास विभाग संगठन हो। आइतबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले अमेरिका निवासी सञ्जय थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।

प्रवासी नेपाली मञ्चका निवर्तमान अध्यक्ष भक्त गुरुङले चियापानका लागि धन्यावाद दिएका छन्। ‘रवीनाजी बद्रीजीको मिठो चियापानको लागि हार्दिक धन्यवाद,’ उनले फेसबुकमा लेखेका छन्।

एनआरएनए विशुद्ध गैरराजनीतिक संस्था हो। विधानअनुसार राजनीतिक पार्टीको पदमा रहेका व्यक्ति संस्थाको पदाधिकारी हुन पाउँदैनन्। उसको विधानमा राजनीतिसँग सम्बन्धित गतिविधिलाई प्रचार–प्रसार तथा सर–सहयोग गर्न नपाइने उल्लेख छ।

सचिवालयमै पार्टीका कार्यकर्तालाई बोलाएर चिया खुवाउन लागेको कुरा एनआरएनएकै कतिपय प्रतिनिधिलाई भने मन परेको छैन। यो विषयले अध्यक्षद्धय थापा र डा.केसी विवादमा तानिने सम्भावना बढेको छ।

‘अहिलेसम्म यसरी राजनीतिक पार्टीका कार्यकर्ता बोलाएर सम्मान गरिएको थिएन। अहिले त अनौठा र अस्वभनिय गतिविधि देख्न थालियो,’ आइसीसीका एक सचिव भन्छन्, ‘विधानविपरित हुने यस्ता हर्कतविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने देखिन्छ।’

‘गैर–राजनीतिक संस्था भन्ने, सचिवालयमै बोलाएर चियापान गर्ने रु सबैको प्यारो बन्न यसो गर्न खोजेको त होइन ?, एक आइसीसी सदस्यको भनाइ छ, ‘भेटघाट गर्ने मन नै भए छुट्टै किसिमले गरे हुन्छ नि ! किन सचिवालयमै भेला गर्नु ? सचिवालय राजनीति गर्ने थलो होइन।’

चुनावकाबेला भोट पाइने आशामा एनआरएनएका नेताहरुले पार्टीका प्रवास विभाग संगठनका प्रतिनिधिहरुप्रति सद्भाव प्रकट गर्ने गर्छन्। तर, संघको विधानले भने यसो गर्न रोकेको छ।

यो पनि पढ्नुहोस्

एनआरएनए सचिवालयमा एमाले कार्यकर्ता भेला पारेर चिया खुवाइँदै