कतार विश्वकप : आयोजकको विरोधमा किन भइरहेको छ प्रदर्शन ?

कतार विश्वकप : आयोजकको विरोधमा किन भइरहेको छ प्रदर्शन ?

काठमाडौं। मंसिर ४ बाट सुरू हुने विश्वकप फुटबलको निर्णायक खेल हेर्नका लागि विश्वभरबाट १५ लाख फुटबल प्रेमीहरू कतार पुग्ने अनुमान गरिएको छ।

कठोर मुस्लिम कानुन पालना गर्ने यो खाडी राष्ट्रले समलैङ्गिक सम्बन्धमा लिएको अडानबारे कैयौं गुनासाहरू सामना गरिरहनुपरेको छ।
इस्लामिक सरिया कानुनअन्तर्गत अनैतिक मानिने भएकाले समलिङ्गी गतिविधिहरू कतारमा गैरकानुनी छन्।

यस्तो गतिविधिमा संलग्नमाथि जरिवाना, सात वर्षसम्मको जेल सजाय वा मृत्युदण्डसम्मको सजाय हुनसक्छ।

कतार विश्वकप आयोजकले त्यो देश घुम्न र फुटबल हेर्नका लागि ‘सबैलाई स्वागत’ भन्दै कसैलाई पनि भेदभाव नगरिने दाबी गरेका छन्।

यद्यपि कतार विश्वकपका प्रमुख कार्यकारी नसर अल खातुरले सरकारले समलिङ्गीबारे आफ्नो कानुन परिवर्तन नगर्ने उल्लेख गर्दै सबैलाई ‘आफूहरूको संस्कृति’ को सम्मान गर्न आग्रह गरेका छन्।

उनले कतारमा समिलिङ्गी हुन् वा परलिङ्गी कुनै पनि जोडीहरूको सार्वजनिक स्नेह साटासाटलाई तिरस्कार गरिने बताएका छन्।

ह्युमन राइट्स वाचले हालै प्रकाशित गरेको एउटा प्रतिवेदनले कतारी सुरक्षा निकायले यौनिक अल्पसंख्यकभित्र फरक पहिचान भएका लेस्बियन, गे र ट्रान्सजेन्डर समूहका मानिसहरूलाई पक्राउ गरिरहेको जनाएको छ।

कतिपय अवस्थामा उनीहरूलाई आफ्नो यौनिक अभिमुखीकरण परिवर्तनका लागि समेत दबाब दिइएको प्रतिवेदनमा दाबी गरिएको छ।
कतारको सरकारले भने त्यो प्रतिवेदनमा झुटो आरोप लगाइएको दाबी गरेको छ।

अस्ट्रेलियाको फुटबल टोलीले एउटा भिडियो सार्वजनिक गर्दै कतारलाई समलिङ्गीबीचको सम्बन्ध गैरकानुनी करार गर्ने कानुन खारेज गर्न आग्रह गरेको छ।

त्यो भिडियोमा यो फुटबल टोलीले विश्वकपका लागि रङ्गशाला निर्माणमा खटिएका करिब ३० हजार आप्रवासी कामदारमाथि कतारी रोजगारदाताले गरेको व्यवहारको पनि आलोचना गरिएको छ।

भवनलगायतका पूर्वाधार निर्माण क्षेत्रमा स्वास्थ्य र सुरक्षाको लापरबाहीका कारण कैयौं कामदारहरू घाइते हुनुका साथै कतिपयको मृत्यसमेत भएको थियो।

मानव अधिकारको सम्मानमा कतार चुकेको विरोधमा डेनमार्कका फुटबल खेलाडीहरूले आफूले फिक्का कालो रंगका सामग्रहीहरू मात्रै प्रयोग गर्ने बताएका छन्।

समलिङ्गी प्रतिकुल कतारी कानुनको विरोध गर्ने इंग्ल्यान्डका क्याप्टेन ह्यारी केनसहित युरोका ९ टोलीका क्याप्टेनहरूले हातमा वन लभ ९एउटै माया० अंकित ब्यान्डहरू पाखुरामा बाँध्ने भएका छन्।

यसअघिको विजेत फ्रान्स भए पनि पेरिसहित फ्रान्सका अन्य केही सहरहरूले विश्वकपका खेलहरू सार्वजनिक स्थानमा नदेखाउने भएका छन्।

ब्रिटिस लैङ्गिक अल्पसंख्यक अधिकार अभिायनकर्मी पिटर ट्याचेलले कतारको राजधानी दोहामा प्रदर्शन गर्दा आफूलाई पक्राउ गरेर सडक छेउमा नियन्त्रणमा राखिएको बताएका छन्।

सन् २०१० मा फुटबलको नियामक निकाय फिफाको २२ सदस्यीय कार्यकारी सदस्यहरूबीच भएको मतदानमा कतारले विश्वकप आयोजना गर्ने अधिकार जितेको थियो।

विश्वकप आयोजना गर्ने अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियाको प्रस्तावमध्ये कतार छानियो।

कतार विश्वकप आयोजना गर्ने पहिलो अरब राष्ट्र हो।

आफ्नो देशमा विश्वकप आयोजना गर्ने पक्षमा फिफाका पदाधिकारीहरूको समर्थनका लागि ३० लाख युरो घुस दिएको आरोप लागे पनि दुई वर्षको अनुसन्धानपछि कतारले सफाइ पाएको थियो।

तत्कालीन समयमा फिफाका अध्यक्ष रहेका सेफ ब्लाटरले कतारलाई समर्थन गरेका थिए। तर पछि उनले फिफाले गलत निर्णय लिएको हुनसक्ने बताए।

जम्मा २९ लाख जनसंख्या रहेको कतार विश्वकै धनी देशहरूमध्येमा पर्छ। यो देशको प्रमुख आयस्रोत तेल तथा ग्यासको व्यापार हो।
कतारले यो प्रतियोगिताकै लागि मात्र सातवटा नयाँ रङ्गशाला निर्माण गरेको छ।

विश्वकपका लागि सयवटा नयाँ होटलहरू, नयाँ मेट्रो रेल र नयाँ सडकहरू बन्ने काम अझै जारी छ।

पुरातनवादी मुस्लिम देश भएका कारण कतारमा मदिरा पिउन महँगा होटलको बारमा पनि निषेध छ। यहाँ ५ सय मिलिलिटरभन्दा कम बियरलाई १३ सय अमेरिकी डलर पर्छ।

विश्वकप आयोजकले रङ्गशालाको निश्चित क्षेत्रमा खेल सुरू हुनुभन्दा ३ घण्टाअघि र खेल सकिएको एक घण्टापछिबाट मदिरा पिउन खुला गरिने बताएका छन्।

दोहामा ४० हजार जना अट्ने समर्थकरू रहने क्षेत्रमा मदिरा उपलब्ध हुनेछ। साथै मदिराले लठ्ठ भएका समर्थकहरू गएर शान्त हुने क्षेत्र पनि रङ्गशालामा हुनेछ।

विश्वकपका निर्णायक खेलहरू नोभेम्बर २० बाट डिसेम्बर १८ सम्म हुँदैछन् र यो समयमा कतारको तापक्रम २५ डिग्री सेल्सियस आसपास हुने गर्छ।

यदि सँधैजस्तो जुन र जुलाईमा विश्वकप कतारमा आयोजना गरिएको भए विश्वकपको समयमा तापक्रम ४० डिग्री सेल्सियसमाथि हुने थियो र ५० डिग्रीसम्म पुग्न सक्थ्यो।

कतारले सुरूमा वातानुकुलित बन्द रङ्गशालामा खेल खेलाउने प्रस्ताव गरे पनि त्यो प्रस्ताव अस्वीकृत भएको थियो।

नोभेम्बर र डिसेम्बर युरोपेली फुटबल क्लबहरूका लागि अत्यन्तै व्यस्त महिना हुन्।

तर यहाँका क्लबहरूबाट अग्रपंक्तिमा खेल्न धेरै खेलाडीहरूलाई कतार विश्वकपमा खेल्नका लागि आफ्ना देशहरूले बोलाउँछन्।

युरोपका चर्चित लिगहरू इंग्ल्यान्डको प्रिमियर लिग, इटलीको सिरी ए र स्पेनको ला लिगले आफ्नो खेल सिजन अन्तर्राष्ट्रिय प्रतियोगिताको एक साता अघिबाट स्थगन गर्दैछन्।

विश्वकप सकिएपछि मात्र युरोका खेलहरू पुनः सुरू हुनेछन्।(बिबिसीबाट)