कांग्रेसले एनआरएनए भद्रगोल बनाएको आरोप लगाउँदै ओलीले भने– विदेशमा एमाले नमूना हुनुपर्छ

कांग्रेसले एनआरएनए भद्रगोल बनाएको आरोप लगाउँदै ओलीले भने– विदेशमा एमाले नमूना हुनुपर्छ

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई नेपाली कांग्रेसले भद्रगोल बनाएको आरोप लगाएका छन्।

एमालेको प्रवास विभाग संगठन प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै ओलीले कांग्रेसको हस्तक्षेपका कारण एनआरएनएमा भद्रगोल भएको आरोप लगाए।

उनले एनआरएनएको चुनावको विषय कोट्याउँदै नेपाली कांग्रेसका प्रतिनिधिका कारण देशकै बेइज्जत भएको आरोप लगाएका हुन्।

‘कांग्रेसका साथिहरुलाई डेमोक्रेसी शब्द मन पर्छ। तर, व्यवहार मन पर्दैन। जहाँ पनि कुर्सी हानाहान,’ ओलिले भने, ‘मतभेद छन् भने आपसमा छलफल हुनुपर्छ। एनआरएनएको चुनाव विदेशतिर भएको भए अन्तर्राष्ट्रिय बेइज्जत हुन्थ्यो। झन् नेपालमा भयो।’

एनआरएनए विदेशमा बस्ने नेपालीहरुको एक मात्र साझा संस्था भएको बताउँदै ओलिले भने, ‘यो साझा संस्था हो। यसको उद्धेश्य छुट्टै छ। यसमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन। कांग्रेसले जस्तो एमालेले हस्तक्षेप गर्दैन। राजनीतिमुक्त एनआरएनए बनाउनुपर्छ।’

उनले एमाले पार्टीले सधैं नमूना व्यवहार देखाउने दावी गरे। मञ्चलाई सहमतिमा नयाँ कार्यसमिति चयन गर्न आग्रह गर्दै ओलिले भने, ‘हाम्रो संगठनका प्रतिनिधिले नेतृत्वका लागि कहिल्यै हानथाप गर्नु हुँदैन। नमूना दृष्टान्तयोग्य व्यवहार देखाउनुपर्छ,’ ओलिले भने, ‘विदेशमा बस्ने एमालेहरु नमूना हुनुपर्छ।’

उनले विदेशमा बस्ने आफ्ना कार्यकर्तालाई एकआपसमा मिलेर बस्न आग्रह गरे।

‘सबल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूलनाराका साथ बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित अधिवेशनमा ३ सयभन्दा प्रतिनिधि सहभागि छन्।