अमेरिकी प्रसिद्ध ब्राण्ड ‘हार्डरक्स’लाई नेपालमा पहिलो वर्षमै सफलता
काठमाडौं । अमेरिकाको प्रसिद्ध सत्कार–मनोरन्जन ब्राण्ड हार्डरक्सले नेपालमा पहिलो वर्षको सेवाकाल पूरा गरेको छ। कोरोना महामारीकै बेला निर्माण सुरु भएको हार्डरक्सको क्याफे, लाइभ पर्फमेन्स भेन्यु तथा पसल दरबारमार्गको शेर्पामलमा छ।
हार्डरक्स क्याफे काठमाडौंको पहिलो वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको हो। उक्त अवसरमा काठमाडौंका हार्डरक्स पारखीहरुका लागि लाइभ म्युजिक, विभिन्न खालका परिकार तथा ककटेलसहितको विशेष कार्यक्रम आयोजना गरिएको थियो।
हार्डरक्स क्याफेलाई काठमाडौंको रुट्स फेसन समूहले भित्र्याएको हो। यो समूहले दरबारमार्ग क्षेत्रबाट सुरु गरेको ब्राण्डेड लत्ताकपडाको व्यापारले राम्रो छवि बनाएको छ। नेपाली ग्राहकहरुमाझ ब्राण्डेड सामानको स्वाद र महत्व स्थापित गर्न मुख्य भूमिका खेलेको रुट्स फेसनले सत्कार–मनोरन्जनका क्षेत्रमा हार्डरक्समार्फत् नयाँ सफलता दर्ज गरेको हो।
‘पहिलो वर्षमा हामीले हाम्रा ग्राहक–पाहुनाहरुबाट धेरै राम्रो प्रतिक्रिया पाएका छौं। यसले हामीलाई हार्डरक्सको उपस्थिति झन् सुदृढ बनाउन प्रेरित गरेको छ,’ हार्डरक्सका लागि नेपालका मुख्य प्रवद्र्धक सन्जिव तुलाधरले भने।
शुक्रबार रात आमन्त्रित पारखी तथा शुभचिन्तकहरुका लागि आयोजित सांगितिक कार्यक्रममा लोकप्रिय गायक योगेश्वर अमात्यले हार्डरक्स टिमलाई गितार उपहार दिएका थिए। पर्यटनमन्त्री जीवनराम श्रेष्ठको उपस्थिति रहेको कार्यक्रममा रक व्याण्डहरु द एलिमेन्टस् र न्दावादले प्रस्तुति दिएका थिए।
‘हामी काठमाडौंमा पहिलो वार्षिकोत्सव मनाउँदा पाउँदा धेरै हर्षित छौं। हामी सत्कार उद्योगमा सकरात्मक असर पार्ने काम गर्छौं। नेपाल संगित तथा खानपान परम्परामा धनी मुलुक हो, जहाँ हार्डरक्स स्थापित हुनु उत्साहदायी छ,’ हार्डरक्स इन्टरनेशनलका फ्रेन्चाइज अपरेसन भाइस प्रेसिडेन्ट एनिबल फर्नान्डेजले प्रेस वक्तव्यमा भनेका छन्।
हार्डरक्स इन्टरनेशनल संसारका ७० देशमा फैलिसकेको छ र २ सय ६५ ठाउँमा यसका आधिकारिक सेवा केन्द्रहरु सन्चालनमा छन्।
हार्डरक्स इन्टरनेशनलले आफ्नै विश्वव्यापी स्वादसँगै स्थानीय र परम्परागत स्वादहरुलाई समेत समेटेर मेनु तयार गर्छ। खाना र सेवामा निरन्तर गर्ने अनुसन्धानका कारण नै ग्राहक सन्तुष्टिका हिसावले हार्डरक्सले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाइसकेको छ।