बैंकहरूको ब्याज दोब्बरले बढेपछि व्यवसायी आन्दोलनमा उत्रिए

बैंकहरूको ब्याज दोब्बरले बढेपछि व्यवसायी आन्दोलनमा उत्रिए

काठमाडौं। तरलता संकट गहीरो बन्दै गएपछि आन्दोलन शुरू भएका छन्। अर्थतन्त्रमा मन्दी बढिरहेका बेला राष्ट्र बैंकले नीतिगत दरमार्फत बैंक ब्याजमाथि पुर्‍याएको भन्दै यतिबेला व्यवसायीहरू आन्दोलित छन्।

एक वर्षको हाराहारीमा बैंकहरूको ब्याज दोब्बरले बढेपछि धान्नै नसक्ने अवस्था आएको भन्दै व्यवसायी आन्दोलित भएका हुन्।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा व्यवसायिक संगठनका नेताहरुले माइतिघर मण्डलामा मौन प्रदर्शन गरेका छन्।

उनीहरुले ब्याजसँगै चालु पुँजी कर्जा नीतिमा पसिन स्थिरिता कायम गर्न माग गरेका छन्। विभिन्न नारासहितका पर्चा पम्प्लेट बोकेर आन्दोलनमा उत्रेका व्यवसायीहरू यसरी पहिलो पटक आन्दोलनमा उत्रिएका हुन्।

प्रर्दशनकारीहरूले बोकेका पर्चा र पम्प्लेटमा ‘बैंकिङ आतंक बन्द गर’ ‘ब्याजदरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर’ लगायतका विभिन्न नारा लेखिएका थिए।

बिरोध पर्दशनमा महासंघका उपाध्यक्षहरु अन्जन श्रेष्ठ, रामचन्द्र संघई, दिनेश श्रेष्ठलगायत पदाधिकारी तथा सदस्यहरू सहभागी थिए।

कार्यक्रममा न्युरोड, महाबौद्ध, होटल संघ लगायत विभिन्न संघहरुको पनि सहभागिता थियो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरूले व्याज बढाउन सक्म्ने गरी नीतिगत दरहरू बढाएको थियो।

यसरी नीतिगत रूपमा दर बढाइएपछि बैंकहरुले भद्र सहमतिमार्फत स्थिर राखेको ब्याज वृद्धि गरेका थिए।

बैंकहरूको आधार दर औसतमा १० प्रतिशत नाघेको छ। ऋणको व्याजदर अहिले साढे १८ प्रतिशतसम्म पुगिसकेको छ।

गत वर्षसम्ममा यस्तो ब्याज ८–१२ प्रतिशतसम्म कायम थियो।



No ads found for this position