चुनाव खर्च भन्दै नेताले पैसा मागेर सताएपछि ‘गुप्तवास’मा एनआरएनएका पदाधिकारी !

चुनाव खर्च भन्दै नेताले पैसा मागेर सताएपछि ‘गुप्तवास’मा एनआरएनएका पदाधिकारी !

काठमाडौं। चुनाव खर्च भन्दै नेपालका राजनीतिक पार्टीका नेताहरुले पैसा माग्न थालेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरु संकटमा परेका छन्।

आगामी ४ मंसिरमा हुन लागिरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदावरी दिएका नेताहरुले ‘चुनाव खर्च दिनुपर्‍यो’ भन्दै बारम्बार ताकेता गर्न थालेपछि एनआरएनएका पदाधिकारीहरु तनावमा परेका हुन्।

‘हैरान बनाएका छन्। सहयोग गर्नुपर्‍यो भनेर। एउटालाई मात्र गरेर पनि नहुने,’ एनआरएनएका एक पदाधिकारीले प्रवास खबरसँग पीडा सुनाए।

यसरी पैसा माग्नेहरुमा सत्ता गठबन्धबाट उम्मेदवारी दिएका नेताहरु बढी छन्।

‘तपाईँहरुलाई एनआरएनएमा अगाडी बढाउन हामिले पनि सहयोग गरेका थियौं। पछि पनि तपाईलाई सहयोग रहनेछ। यसपालि चाँहि हामिलाई सहयोग गर्नुहोस् भन्दै पैसा मागिरहेका छन्,’ उनले सुनाए, ‘अब सिधै नाइ भन्न पनि नमिल्ने। मागे जत्ति पैसा दिन पनि नसकिने। धेरै मुस्किल परिरहेको छ।’

नेपाली कांग्रेस र माओवादी मात्र होइन एमालेका उम्मेदवारहरुले पनि पैसा मागेर एनआरएनएका नेताहरुलाई हैरान बनाएका छन्।

बारम्बार पैसा माग्न थालेपछि एनआरएनएका पदाधिकारीले पार्टीका नेता तथा उम्मेदवारको फोन नै उठान छोडेका छन्।

अरुबेला नेपालका राजनीतिक पार्टीका नेताहरु भेट्न मरिहत्ते गर्ने एनआरएनएका पदाधिकारी अहिले भने ‘गुप्तवास’ बस्न थालेको स्रोतको दावी छ।

‘पार्टीका नेताहरुको फोन आउँदा वित्तिकै थाहा हुन्छ पैसा माग्नलाई हो भन्ने। त्यसैले अहिले एनआरएनएका पदाधिकारी नेताहरुको फोन नै उठाउन छोडेका छन्। म्यासेज पनि नहेरी बस्नु पर्ने बाध्यता छ,’ स्रोतले प्रवास खबरसँग भन्यो।

अहिले नेपालमै भएका पदाधिकारी पनि गुपचुप बसेका छन्। ‘नेता भेट्दा वित्तिकै पैसा माग्छन्। नेपालमै भएकाहरु पनि लुकेर बस्नुपर्ने बाध्यता छ,’ स्रोतले भन्यो।

एनआरएनएले आफूलाई विशुद्ध गैरराजनीतिक संस्था दावी गर्दै आएपनि पदाधिकारीकै कारण संघमा राजनीति हावी भइरहेको छ। संघका पछिल्ला चुनावहरुमा उम्मेदवारले राजनीतिक पार्टीहरुबाट खुल्ला रुपमै समर्थन लिएका थिए।

‘यो सबै हुनुमा हाम्रै कारण छ। अब ‘गुन’ त तिर्नै पर्‍यो नि। नदिए अर्कोपटक सहयोग गर्दैनन् ,’ एनआरएनएका एक उच्च पदाधिकारीले भने।

अपेक्षा अनुसारको आर्थिक साहयता नमिलेपछि यता दलका नेताहरु एनआरएनएका पदाधिकारीसँग रुष्ट बन्न थालेको स्रोतको दावी छ।

‘फोन नै उठ्दैन। म्यासेज नि हेर्दैनन्। त्यसैले नेताहरु पनि रिसले चुर भएका छन्। अर्कोपटक हेरौंला भन्दै धम्कि दिन थालेका छन्,’ स्रोतको भनाइ छ।