लकडाउनको विरोधमा जिमी जिमी गीत

लकडाउनको विरोधमा जिमी जिमी गीत

बेइजिङ। चीनमा अहिले कोभिड–१९ बाट जनता जोगाउनका लागि कडा लकडाउन अपनाइएको छ। सरकारको लकडाउन नीतिप्रति स्थानीयले कडा विरोध गरिरहेका छन्। चीनका जनताले लकडाउनको विरोध गर्न फरक शैली अपनाएका छन्।

उनीहरु सन् ८० को दशकमा भारतीय अभिनेता मिथुन चक्रवर्तीको अभिनय रहेको फिल्म ‘डिस्को डान्सर’ मा बप्पी लाहिडीले गाएको हिट गीत ‘जिमी–जिमी’ मा लिप्सिङ गरेर सरकारको विरोध गरिरहेका छन्।

कैयौं चिनियाँ एप टिकटक र अन्य सामाजिक सञ्जालमा मानिसहरुले लिप्सिङको भिडियो बनाएर लकडाउनको विरोध गरिरहेका छन्। बप्पीको लेखन र पावर्ती खानले गाएको यो हिट गीतलाई चीनमा मन्दारिनमा भर्सन गरिएको छ। जसमा मानिसहरु ‘जिए मि, जिए मि’ भन्दै गाइरहेका छन्।

यसको चिनियाँ अर्थ ‘मलाई चामल देउ, मलाई चामल देउ’ हो। भिडियोमा मानिसहरु घर–घरमा खाली भाँडाकुडा देखाइरहेका छन्। लकडाउनका कारण मानिसहरुले अत्यावश्यक खानेकुराको जोहो गर्न नसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

चीनमा सरकारले देशका २०० बढी स्थानमा कडा लकडाउन लगाएको छ।