भारतीय मूलका नेताले नेतृत्व सम्हालिरहेका विश्वका सात देशहरु

भारतीय मूलका नेताले नेतृत्व सम्हालिरहेका विश्वका सात देशहरु

काठमाडौं। भारतीय मूलका ब्रिटेनी सांसद ऋषि सुनक ब्रिटेनका प्रधानमन्त्री बनेका छन्। सुनक प्रधानमन्त्रीमा नियुक्त भएपछि विश्वभरका नेताहरूले आ–आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ऐतिहासिक घटना बताएका छन्।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुनकलाई बधाइ दिँदै आगामी दिनमा उनीसँग मिलेर दुवै देशको साझा हितका लागि काम गर्ने बताएका छन्।

भारतीय व्यवसायी आनन्द महिन्द्राले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्,‘विन्स्टन चर्चिलले सन् १९४७ मा भारत स्वतन्त्र हुँदा भनेका थिए–भारतीय नेता कम क्षमतावाला मानिस हुनेछन्। आज हामी स्वतन्त्रताको ७५ औं वर्षमा छौं। भारतीय मूलका एक जना ब्रिटेनको प्रधानमन्त्री बनेका छन्।’

यस अवसरमा विश्वका अरू मुलुकहरूमा शीर्ष पदमा आसीन भारतीय मूल नेताहरूको चर्चा भइरहेको छ।

यतिबेला अमेरिेकादेखि ब्रिटेन, क्यानाडा, सिंगापुर, अस्ट्रेलियासहित कतिपय अफ्रिकी र एसियाइ मुलुकमा भारतीय मूलका नेता प्रतिष्ठित पदमा छन्।

पोर्चुगलमा प्रधानमन्त्री एन्टोनियो कोस्टा

युरोपमा भारतीय मूलका नेताहरूमा एन्टोनियो कोस्टाको नाम प्रमुखताका साथ लिइन्छ। उनी पोर्चुगलका प्रधानमन्त्री हुन्।

एन्टोनियोका पिता ओरल्यान्डो कोस्टा एक कवि थिए। उनले उपनिवेशविरोधी आन्दोलनमा भाग लिएका थिए। ओरल्यान्डोले पोर्चुगाली भाषमा ‘साइन अफ एन्गर’ नाम चर्चित किताब लेखेका थिए।

हजुरबुबा लुई अफोन्सो मारिया डी कोस्टा पनि गोवाका बासिन्दा थिए। यद्यपि एन्टोनियोका जन्म मोजाबिक्रमा भएको थियो। तर, उनका नातेदारहरू अहिले पनि गोवाको मरगाओ नजिक रुआ अबेद फारिया गाउँमा बस्छन्।

अफ्नो भारतीय पहिचानबारे कोस्टाले एकपटक भनेका थिए,‘मेरो छालाको रंगले मलाई केही गर्नबाट रोकेन। म आफ्नो छालाको रंगसँग सामान्य रूपले बस्ने गरेको छु।’

यतिमात्रै होइन कोस्टा भारतको ‘ओसिआइ’ काडबाहक पनि हुन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१७ मा उनलाई ‘ओसिआइ’ कार्ड दिएका थिए।

मरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ

मरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ पनि भारतीय मूलका नेता हुन्। उनी भारतको बिहार राज्यसँग जुडेका छन्।

प्रविन्द त्यहाँको राजनीतिमा ‘हेभीवेट’ नेताका रूपमा लोकप्रिय छन्। उनी मरिसरसको राष्ट्रपति र प्रधानमन्त्री भइसकेका छन्।

अहिले पनि प्रधानमन्त्री रहेका प्रविन्द केही दिनअघि आफ्नो पिताको अस्थि गंगामा विसर्जन गर्न वाराणसी पुगेका थिए। यसबाहेक पनि उनी विभिन्न मौकामा भारत पुग्ने गरेका छन्।

मरिससका वर्तमान राष्ट्रपति पृथ्वीराजसिंह रूपन पनि भारतीय मूलका नेता हुन्।

सिंगापुरकी राष्ट्रपति हलिमा याकुब

सिंगापुरकी राष्ट्रपति हलिमा याकुबको पूर्वजहरू पनि भारतका छन्। उनका पिता भारतीय र आमा मलयाली मूलका थिए।

सिंगापुरमा मलय जनसंख्या करिब १५ प्रतिशतमात्रै छ।

यसका बाबजुद याकुब सिंगापुरको पहिलो महिला राष्ट्रपति बनेर इतिहास रचिदिएकी छन्।

यसअघि उनी सिंगापुरको संसदमा अध्यक्ष पदको भूमिका वहन गरिरहेकी थिइन्। याकुबले संसदको पहिलो महिला अध्यक्ष बनेर पनि इतिहास बनाएकी थिइन्।

सुरीनामका राष्ट्रपति चन्द्रिकाप्रसाद सन्तोखी

ल्याटिन अमेरिकी देश सुरिनामका राष्ट्रपति चन्द्रिकाप्रसाद सन्तोखी पनि भारतीय मूलका हुन्।

उनले राष्ट्रपति पदको सपथ संस्कृत भाषामा लिएका थिए।

गुयानका राष्ट्रपति इरफान अली

क्यारिबियाइ मुलुक गुयानाका राष्ट्रपति इरफान अलीका पूर्वज पनि भारतका छन्।

उनको जन्म सन् १९८० मा भारतीय गुयानी परिवारमा भएको थियो।

सेशेलका राष्ट्रपति वावेल राकलावन

सेशेलका राष्ट्रपति वावेल रामकलावन पनि भारतीय मूलका नेता हुन्। उनका पूर्वज भारतको बिहार प्रान्तका थिए। उनका बाबु सिकर्मी र आमा शिक्षक थिइन्।

भारतका प्रधानमन्त्री मोदीले सन् २०२१ मा उनलाई भारतका छोरा बताउँदै भनेका थिए,‘वावेल रामकलावनका पूर्वज बिहारको गोपालगन्जका हुन्। उनले केवल गाउँको मात्रै नभएर भारतको गर्व बढाएका छन्।’

अमेरिकामा कमला ह्यारिसले रचिन् इतिहास

भारतीय मूलका शीर्ष नेताहरूमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पनि सामेल छिन्।

सन् २०२१ मा उनलाई ८५ मिनेटका लागि अमेरिकी राष्ट्रपति पदको जिम्मेवारी दिइएको थियो। त्यसका कमला अमेरिकी इतिहासमा राष्ट्रपतिको पद सम्हाल्ने पहिलो महिला बनेकी थिइन्।

यसअघि उनले अमेरिकी लोकतन्त्रको २५० वर्ष लामो इतिहासमा पहिलो महिला, पहिलो काली र पहिलो एसियाइ–अमेरिकी महिला उपराष्ट्रपति बनेर पनि इतिहास रचेकी थिइन्।

कमला भारतसँग आफ्नो सम्बद्धताबारे खुलेर कुरा गर्ने कारणले पनि चर्चित छन्।

उनले आफ्नो आत्मकथा ‘द ट्रुथ वी टोल्ड’ मा लेखेकी छन्,‘मानिस मेरो नाम कुनै विराम चिह्न अर्थात ‘कमा–ला’ जस्तै उच्चारण गर्ने गरेको छ।’

त्यसपछि क्यालिफोर्नियाकी सिनेटर कमला आफ्नो भारतीय नामको अर्थ प्रष्ट पार्छिन्,‘मेरो नामको अर्थ हो ‘कमलको फूल।’ भारतीय संस्कृतिमा यसको ज्यादै महत्व छ।’

कमला भारतमा जन्मिएकी आमा र जमैकामा जन्मिएका पिताका सन्तान हुन्।(बिबिसीबाट)