आज सूर्यग्रहण

आज सूर्यग्रहण

काठमाडौं। कात्तिक कृष्ण औंसीका दिन आज सूर्यग्रहण लाग्दैछ।

नेपाल पञ्चाङ निर्णायक विकास समितिले जनाएअनुसार खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) ग्रहण लाग्ने भएको हो।

ग्रहण अपराह्न ४ः५२ बजे स्पर्श गर्ने र ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए।

उनकाअनुसार नेपालबाट करिब ३२ मिनेट सूर्यग्रहण देखिने छ। पूरा समय नदेखिने भए पनि ग्रहण बेलुकी साढे ७ बजे नेपालबाट छाड्ने उनको भनाइ छ।

शास्त्रीय मान्यताअनुसार ग्रहण अवधिभर बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ।

ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म खान निषेध गरिएको निर्देशक ढुंगेलले जानकारी दिए।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायका कर्म गर्न शुभ मानिन्छ। अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ।
ग्रहणका बेला दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको छ।