मधेसमा केपी ओली हाबी हुनु दुखद् : प्रचण्ड
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा केपी ओली हाबी हुनु दुखद् भएको बताएका छन्।
गठबन्धन दलका नेता कार्यकर्तालाई मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले ओली मधेस आन्दोलनको विरोधी भएको बताएका हुन्।
‘मधेसविरुद्ध विष वमन गर्नेहरू किन हाबी हुँदैछन् ? यो विषयमा गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्छ,’ उनले भने।
उनले स्थानीय चुनावमा एमाले मधेसमा अप्रत्याशित सिटहरू जितेकोतर्फ संकेत गर्दै प्रचण्डले मधेसविरुद्ध विष वमन गर्नेहरू चुनावमा विजयी हुनु विडम्बना भएको बताए।
मधेसको अधिकारका लागि लड्नेहरू आइसोलेसनमा पर्ने र विष वमन गर्नेहरू विजयी हुने अवस्था चिन्ताजनक रहेको उनको तर्क थियो।
अध्यक्ष प्रचण्डले मधेसमा भ्रम दिने, झुटा आश्वासन दिने, बेइमानी र जालझेल गर्नेहरू फेरि बलियो हुन थालेको भन्दै सचेत रहन आग्रह गरे।
मधेसको अधिकारका लागि आफूहरूले संविधान संशोधन विधेयक ल्याउँदा केपी ओलीले पारित हुन नदिएको र नागरिकता विधेयकमा समेत ओली बाधक बनेको प्रचण्डको आरोप छ।