नवौं राष्ट्रिय खेलकुद : एनआरएनविरुद्धको ‘प्रोटेस्ट’ सदर, नतिजा उल्टयाउँदै प्रदेश १ विजयी

नवौं राष्ट्रिय खेलकुद : एनआरएनविरुद्धको ‘प्रोटेस्ट’ सदर, नतिजा उल्टयाउँदै प्रदेश १ विजयी

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटबल टिमका खेलाडीमाथि लागेको ‘प्रोटेस्ट’ सदर भएको छ । योसँगै एनआरएनए प्रतियोगिताबाट बाहिरिएको छ ।

एनआरएनएले जितेको नतिजासमेत उल्टिदै प्रदेश १ को जित भएको छ । गत बिहीबार भएको खेलमा नेपाली राष्ट्रिय खेलाडी उतारेपछि विवाद भएको थियो ।

नेपाली राष्ट्रिय टिमका नियमित सदस्यहरू विमल घर्तीमगर, अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, संजोग राई, विशाल राई, निशान खड्का र अशोक खवासमाथि प्रदेश १ ले ‘प्रोटेस्ट’ हालेको थियो ।

गत बिहीबार प्रदेश १ विरुद्धको खेलअघि एनआरएनएको टिममा राष्ट्रिय खेलाडी भएको पाएपछि विवाद भएको थियो । जसका कारण डेढ घण्टा ढिलो सुरु हुँदा दुवै हाफ ३५–३५ मिनेटमा घटाइएर खेलाइएको थियो । सो खेल एनआरएनए २–० ले विजयी भएको थियो। एनआरएनएका लागि विमल र संजोगले एक–एक गोल गरेका थिए।

सो खेलअघि प्रदेश १ खेल्न मन्जुर थिएन् । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामाले खेलपछि ‘प्रोटेस्ट’ हाल्न सक्ने बताएपछि खेल भएको थियो।

खेलसकिने बित्तिकै प्रदेश १ ले हालेको थियो। शनिबार सो प्रोटेस्ट सदर भएको हो। यो निर्णयसँगै त्यो खेलको नतिजा उल्टिएर प्रदेश नम्बर १ को ३–० को जित भएको छ। अब, समूह ए मा रहेको एनआरएनएले राष्ट्रिय खेलाडीविना गण्डकी प्रदेशविरुद्ध अन्तिम खेल खेल्ने छ।