नवौं राष्ट्रिय खेलकुद : टीम एनआरएनएको, खेलाडी नेपालका

नवौं राष्ट्रिय खेलकुद : टीम एनआरएनएको, खेलाडी नेपालका

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको फुटबलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ।

संघले प्रदेश– १ को टोलीलाई २–० गोल अन्तरले हराएको हो।

बिहीवार पोखरास्थित गोस्टेघाट फुटबल मैदानमा भएको खेलमा एनआरएनएको तर्फबाट संजोक राई र विमल घर्ती मगरले १–१ गोल गरेका थिए।

तर, एनआरएनएको तर्फबाट मैदानमा उत्रिएका अधिकाशं खेलाडी गैरआवासीय नेपाली होइनन्। गोल गरेका राई र घर्ती पनि एनआरएन होइनन्। राई ए डिभिजन लिग खेल्ने खेलाडी हुन् भने घर्ती राष्ट्रिय टीमका खेलाडी हुन्।

राईले सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफमा राष्ट्रिय टोलीका फरवार्ड घर्तीले सेकेण्ड गोल गरेका थिए।

एनआरएनएले रोजगारीको लागि विदेश बस्न बाध्य नेपाली खेलाडीहरूलाई पनि राष्ट्रिय खेलकुदमा आवद्ध गराउने मुख्य उद्देश्यसहित ‘एनआरएनए स्पोर्ट्स एकेडेमी’को स्थापना गरेको थियो। यहि प्रतिष्ठानमार्फत संघले खेलकुद गतिविधिलाई अगाडी बढाइरहेको छ।

संघले आठौं औं राष्ट्रिय खेलकुदमा पनि विदेशबाट आफ्ना खेलाडी ल्याएर सहभागिता जनाएको थियो। तर, यसपटक भने संघले विदेशबाट आफ्ना खेलाडी ल्याउन सकेको छैन। यद्यपि मलेसियालगायतका देशबाट केही एनआरएन खेलाडी भने फुटबलमा सहभागि छन्।

प्रदेश १ ले एनआरएनएका सदस्य नभएका खेलाडीलाई टोलीमा राखिएको भन्दै विरोध समेत जनाएको थियो।जसकारण खेल केहीबेर प्रभावित बनेको थियो। तर, खेलपछि पनि प्रोटेस्ट हाल्न पाउने भनेपछि बल्लतल्ल खेल सुरु भएको थियो।

एनआरएनए स्पोर्ट्स एकेडेमीका एक प्रतिनिधिका अनुसार विदेशबाट खेल्न आउने तय भएका आफ्ना खेलाडी नआएकोले नेपाली खेलाडी समावेश गर्नुपरेको बताए।

‘आउने तय भइसकेका कतिपय खेलाडी कारणवस नआएकोले हो। अरु टीममा पनि बाहिरी खेलाडीलाई राखिएको छ। राख्न पाइन्छ भनेपछि हामिले पनि राखेका हौं,’ ती प्रतिनिधिले प्रवास खबरसँग भने।

‘गैरआवासीय नेपाली भन्नाले नेपाली मुलको विदेशी नागरिक वा दुई वर्ष भन्दा बढि नेपाल सरकारबाट खटिइ विदेशस्थित नेपाली नियोगमा बहाल रहेको, विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक र दक्षिण एसियाली सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकहरु बाहेकका अन्य देशहरुमा पेशा, रोजगारी वा व्यवसाय गरी बसोवास गर्ने नेपाली नागरिकलाई जनाउँदछ। यसै अनुच्छेदमा उल्लेखित ‘नेपाली मूलका विदेशी नागरिक’ भन्नाले कुनै व्यक्ति साविकमा स्वयम् वा निजको बाबु, आमा, बाजे, वा बज्यै नेपालको नागरिक रहि पछि सार्कको सदस्य मुलुकबाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्तिलाई जनाउँदछ,’ गैरआवासीय नेपाली ऐनमा उल्लेख छ।