नेपालसँग पुर्ख्यौली साइनो भएका सबैलाई गैरआवासीय नेपाली नागरिकता दिइयोस् : अध्यक्ष डा. केसी

नेपालसँग पुर्ख्यौली साइनो भएका सबैलाई गैरआवासीय नेपाली नागरिकता दिइयोस् : अध्यक्ष डा. केसी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले नेपाली मुलका सबैलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सरकारसँग माग गरेका छन्।

संघको २० औं वार्षिकोत्सवको समापन समारोहमा बोल्दै उनले नेपालसँग पुर्ख्यौली साइनो भएका सबैलाई नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकता दिनुपर्ने माग राखेका हुन्।

डा. केसीले पुस्तौदेखि एसियाका विभिन्न देशहरूमा बसेका नेपालीलाई नेपालसँग जोड्नका लागि नेपाली पहिचान दिन माग गरेका हुन्।

खासगरी दोस्रो विश्वयुद्धका बेला गोर्खा सैनिक र उनीहरुका परिवार म्यानमार, थाइल्याण्ड, भुटान, मलेसिया, सिंगापुर र फिजीलगायतका देशहरूसम्म पुगेका थिए।

त्यो पुस्तादेखि उतै बसोबास गर्दै आएका नेपालीलाई अहिले त्यहाँको सरकारले एउटा परिचय पत्र दिएको छ। पिपुल अफ नेपाली ओरिजिन अर्थात् पिएनओ भनेर चिनिने यो परिचयपत्र पनि धेरैपछि मात्रै नेपालीले पाउन थालेका हुन्।

‘म्यानमार, थाइल्यान्ड, मलेसिया,सिंगापुर, फिजीलगायतका ठाउँमा नेपालीहरु पुग्नु भएको छ। उहाँहरुले नेपालको सामाजिक रीति, भाषा, संस्कृति, भेषभूसा, परम्परा र मूल्यमान्यतालाई जोगाइ राख्नुभएको छ’,  उनले भने, ‘उहाँहरू आफ्नो मातृभूमि नेपालसँग जोडिन चाहिरनुभएको छ। तीन पुस्ते मात्र होइन नेपालसँग पुर्ख्यौली साइनो भएका सबैलाई गैरआवासीय नेपाली सरह नागरिकता दिइयोस्।’

पुस्तैनी साइनो रहेका ती नेपालीलाई पनि सम्मान गर्न र अरू गैरआवासीय नेपालीलाई जस्तै नेपालसँग जोड्न पनि डा. केसीले माग गरे।

सरकारले एनआरएनलाई व्यवस्था गरे जस्तै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको परिचयपत्र दिइनुपर्ने माग उनको छ।

गैरआवासीय नेपाली ऎनमा ‘गैरआवासीय नेपाली भन्नाले नेपाली मुलको विदेशी नागरिक वा दुई वर्ष भन्दा बढि नेपाल सरकारबाट खटिइ विदेशस्थित नेपाली नियोगमा बहाल रहेको, विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक र दक्षिण एसियाली सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकहरु बाहेकका अन्य देशहरुमा पेशा, रोजगारी वा व्यवसाय गरी बसोवास गर्ने नेपाली नागरिकलाई जनाउँदछ । यसै अनुच्छेदमा उल्लेखित ‘नेपाली मूलका विदेशी नागरिक’ भन्नाले कुनै व्यक्ति साविकमा स्वयम् वा निजको बाबु, आमा, बाजे, वा बज्यै नेपालको नागरिक रहि पछि सार्कको सदस्य मुलुकबाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्तिलाई जनाउँदछ ,´भनिएको छ।