महिलालाई विदेश मात्र पठाएर समस्या समाधान हुँदैन : राधिका गुरुङ

महिलालाई विदेश मात्र पठाएर समस्या समाधान हुँदैन : राधिका गुरुङ

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) की महिला सचिव राधिका गुरुङ (टीका) ले महिलाहरुलाई वैदेशिक रोजगारीमा पठाएर घरको समस्या समाधान नहुने बताएकी छिन्।

संघको २० औं वार्षिकत्सवको अवसरमा काठमाडौंमा आयोजित युवा र महिला सशक्तिकरण कार्यक्रममा बोल्दै गुरुङले महिलाहरुलाई विदेश पठाउँदैमा समस्या समाधान नहुने बताएकी हुन्।

महिलाहरुलाई वैदेशिक रोजगारीमा जान प्रेरित गर्नुभन्दा देशमै उद्यमी बनाउन सरोकारवालहरुले पहल गर्नुपर्ने उनको भनाइ छ।

‘महिलाहरुलाई विदेश पठाएर घरको अवस्था सुधार हुन्छ भन्ने होइन। घरको समस्यमा समाधान गर्न महिलाहरुलाई देशमै उद्यमी बनाउनुपर्छ,’ उनले भनिन्।

मध्यपूर्व तथा एसियाली मुलुकमा हजारौं नेपाली महिला समस्यमा परेको उनले बताइन्। सीप तथा भाषा सिकेर मात्र विदेश जान उनले आग्रह गरिन्।

वैदेशिक रोजगारीमा गएका महिलाहरुको आर्थिक अवस्था फर्किदा पनि उस्तै हुने भन्दै उनले चिन्ता व्यक्त गरिन्।

महिलाहरुलाई सीप तथा तालिम दिएर सक्षम बनाउन सकिने उनको भनाइ छ। महिला उद्यमीले उत्पादन गरेका वस्तुहरु अन्तर्राष्ट्रिय बजारमा पुर्याउन एनआरएनएले सहजीकरण गर्नुपर्ने उनले बताइन्।

‘एनआरएनए अभियानमा महिला सहभागिता बढाउन महिलाहरु नै अगाडि आउनुपर्ने उनले बताइन्। ‘इच्छा शक्ति हुनुपर्छ, इच्छा शक्तिलाई आफैले अघि बढाउनुहोस्,’ उनले भनिन्।