महराले ‘सजिलो’ पारिदिएको शंकर पोखरेलको चुनावी मैदान

महराले ‘सजिलो’ पारिदिएको शंकर पोखरेलको चुनावी मैदान

काठमाडौं। लुम्बिनी प्रदेशको मुख्यमन्त्री पद खुस्किएपछि पार्टी राजनीतिमा सक्रिय भएका एमाले नेता शंकर पोखरेललाई उनका समर्थकहरूले जवर्जस्त स्थापित गरिदिएका छन्- अबका भावी प्रधानमन्त्री र नेकपा एमालेमा केपी शर्मा ओलीका उत्तराधिकारी।

दंगेली भूमिबाट कम्युनिस्ट आन्दोलनमा होमिएका पोखरेल पार्टी राजनीतिमा अविराम अघि बढेका एक नेता हुन्। संघीय सरकारमा समेत धेरैपटक मन्त्री भइसकेका पोखरेलले संघीयतापछि प्रदेशको पहिलो मुख्यमन्त्री हुने सौभाग्य पनि पाए।

क्षेत्र नं- २ :  ओलीसँग गाँसिएका पोखरेलको प्रतिष्ठा

२०७४ सालको निर्वाचनमा प्रदेश हाँक्न पुगेका पोखरेल यसपालि फेरि संघीय राजनीतिमा फर्किएका छन्।

सजिलो थिएन र छैन यसपालि। माओवादी केन्द्रकै अर्का नेता त्यहाँ छन् कृष्णबहादुर महरा। एमालेमा पोखरेललाई जस्तै माओवादी केन्द्रमा पनि उनलाई प्रचण्डका उत्तराधिकारीका रूपमा चित्रण गरिन्छ। सभामुखसम्म भइसकेका महराको चर्चा यसपालि दाङको त्यही निर्वाचन क्षेत्रमा थियो जहाँबाट शंकर पोखरेल एमालेका लागि निर्विकल्प भइसकेका थिए।

तर, महराले पोखरेललाई सजिलो पारिदिए।

एमाले र माओवादी केन्द्रका जिल्ला नेताहरूका अनुसार पोखरेल आफैले माओवादीसँग सहयोगका लागि प्रस्ताव गरेका थिए। अहिलेका मुख्यमन्त्री तथा माओवादी नेता कुलप्रसाद केसीसँग पोखरेलले महरालाई चुनावी मैदानमा नउत्रिने वातावरण मिलाउन भनेका थिए।

एमाले र माओवादीका स्थानीय कार्यकर्ताहरू पनि दुबै नेतालाई एउटै क्षेत्रबाट भिडाउने मुडमा थिएनन्।

व्यक्ति जीवनका अनेक आरोह-अवरोहसँग जुधिरहेका महरा आफै पनि चुनाव लड्ने धुनमा थिएनन्। उनले पटक-पटक भन्थे- बरू पार्टीमै सक्रिय हुन्छु। अब संसदीय राजनीति पुगिसक्यो।

अन्तिम अवस्थामा आएर महराले चुनावी मैदान नै छोडिदिए। प्रत्यक्ष चुनावमात्रै होइन पार्टीले बुझाएको बन्दसूची (समानुपातिक)बाट समेत आफ्नो नाम फिर्ता लिए।

र, माओवादी नेतृ रेखा शर्मा उम्मेदवार बनेकी छिन्, शंखर पोखरेललाई टक्कर दिन।

स्थानीय राजनीतिकर्मीहरूको टिप्पणी छ- यो त सरासर शंकर पोखरेललाई सजिलो पारिदिएको हो।

माओवादीकी रेखालाई नेपाली कांग्रेस, एकीकृत समाजवादी तथा जनमोर्चाले सघाउनेछन्। पोखरेल भने एक्लै भिड्दैछन्।

यो दाङको क्षेत्र नं २ हो। जहाँबाट अघिल्लोपटक कृष्णबहादुर महराले जितेका थिए। र, प्रदेशसभामा पोखरेल आफैले जितेर मुख्यमन्त्रीसमेत भएका थिए।

२०६४मा पनि महराले यही क्षेत्रबाट संविधानसभाको चुनाव जितेका थिए। तर २०७० सालमा भने उनी नेपाली कांग्रेसका राजु खनालसँग पराजित भए।

यो क्षेत्रमा यसपालि निर्वाचनमा प्रतिनिधिसभामा सत्ता गठबन्धनले शंकरका विरुद्ध माओवादीकी रेखा शर्मालाई प्रतिनिधिसभाका लागि लडाउँदैछ।

अनि प्रदेशसभाका दुवै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरू छन्।

प्रदेशसभाको ‘क’ मा राजु खनाल लड्दैछन्। अहिले नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापतिसमेत रहेका खनाल यसअघि २०७० सालमा त्यही क्षेत्रबाट संविधानसभाको चुनाव जितेका थिए। अहिले उनी प्रदेशसभाका लागि भिड्दैछन्।

यही क्षेत्रको प्रदेशसभा ‘ख’ बाट कांग्रेसका उम्मेदवार छन् प्रचण्ड न्यौपाने ‘गुन्टु’। कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता रहेका उनी विद्यार्थी राजनीतिबाट उदाएका शसक्त युवा नेता हुन्।

गत असारमा भएको स्थानीय तहको निर्वाचनमा यही क्षेत्रमा रहेको घोराही उपमहानगरपालिकामा एमालेका उम्मेदवार नरुलाल चौधरीले सत्तागठबन्धनबाट उम्मेदवार भएका हेमराज शर्मा ‘डायमण्ड’लाई पराजित गरेर फेरि दोहोरिएका थिए।

क्षेत्र नं ३ : पुराना कांग्रेसीलाई ‘गायिका’को टक्कर

दाङको राजनीतिमा यो अर्को रोचक निर्वाचन क्षेत्र हो। जहाँ कुनै बेला शंकर पोखरेलले समेत हार ब्यहोर्नुपरेको थियो। यो क्षेत्र अहिले गठबन्धनभित्रको नेपाली कांग्रेसको भागमा परेको छ र उम्मेदवार हुन्- दीपक गिरी।

गिरीलाई टक्कर दिनका लागि नेकपा एमालेले कोमल वलीलाई उभ्याएको छ।

राप्रपापछि नेकपा एमालेमा प्रवेश गरेर राष्ट्रियसभा सदस्यसमेत भएकी वलीका गीतहरूमा दंगेलीले सुसेलीरहने लोकभाकासँग गाँसिएका छन्।

२०६४ को संविधानसभा निर्वाचनमा गिरीले माओवादी उम्मेदवार सुष्मा घिमिरेसँग पराजित भएका थिए। भर्खरै शान्ति प्रक्रियामा आएको माओवादीले त्यो बेला दाङका पाँचवटै निर्वाचन क्षेत्र ‘कब्जा’ गरेको थियो।

तर २०७० सालमा फेरि कांग्रेसले आफ्नो शाख फर्कायो र पाँचै निर्वाचन क्षेत्र आफ्नै पोल्टामा फिर्ता ल्यायो।

स्थानीय तहको बाँडबाँटपछि ४ र ५ निर्वाचन क्षेत्र गाभिएर ३ नं बन्यो। २०७० सालमा यही क्षेत्रबाट चुनाव लडेका गिरीले फेरि त्यो जित थाम्न सकेनन् र नेकपा एमालेका हिराचन्द्र केसीसँग पराजित भए।

त्यो बेला एमाले र माओवादीबीच गठबन्धन थियो। एमाले फुटेपछि माधव नेपालको एकीकृत समाजवादीतिर लागेका केसी अहिले स्वास्थ्य राज्यमन्त्री छन्।

र, सत्ता गठबन्धनका कारण आफूले जितेको क्षेत्रमा उनले कांग्रेसका गिरीलाई सघाउनेछन्।

यो गठबन्धनलाई चुनौती दिन उत्रिएकी कोमल वलीको गृहनगर पनि यही क्षेत्रमा पर्ने तुलसीपुर उपमहानगर नै हो।

जहाँ स्थानीय तहको चुनावमा एमालेका उम्मेदवार टीकाराम खड्का एक्लैले सत्ता गठबन्धनका उम्मेदवार गेहेन्द्र गिरीलाई पराजित गरेका थिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गेहेन्द्र दीपकका आफ्नै दाजु हुन्।

यसअघि तुलसीपुर उपमहानगरका मेयर भइसकेका घनश्याम पाण्डेलाई भने नेकपा एमालेले प्रदेशसभा ‘क’ को उम्मेदवार बनाएको छ।

पाण्डेसँग गठबन्धनबाट नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीको उम्मेदवारी परेको छ।

२०७० सालमा संविधानसभाको निर्वाचन जितेर श्रम राज्यमन्त्रीसमेत भएका चौधरी २०७४ सालमा प्रदेशसभामा लडेका थिए। अहिले उनी लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री हुन्।

मुख्यमन्त्रीका लागि दाबेदार मानिएका चौधरी २०७० सालको निर्वाचनमा कांग्रेसको शाख जोगाउने एकमात्र बिजयी उम्मेदवार हुन्।

क्षेत्र नं १ :  खुमबहादुरको विरासत, एमालेको शाख र समाजवादीको उपस्थिति

दाङको अर्को एउटा उपत्यका हो- देउखुरी।

निर्वाचन क्षेत्र नं १ मा पर्ने यो उपत्यका खासगरी तत्कालीन नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको क्षेत्र हो।

अनेक राजनीतिक आरोह-अवरोहसँग राजनीतिभित्र सधै चर्चाको शिखरमा रहने खड्को निधनपछि यहाँ कांग्रेसको उपस्थिति अलि फितलो मानिन्थ्यो। तर २०७० सालमा यहाँ पनि कांग्रेसले चुनाव जितेको थियो।

अहिले यहाँ खासगरी तीन राजनीतिक ‘किस्सा’हरू एकआपसमा टकराउँदैछन्।

एउटा त हो, खुमबहादुरको राजनीतिक विरासत जसको बिँडो नेपाली कांग्रेसले उनकै छोरा अनुराग खड्काको हातमा थमाइदिएको छ। उनी यो निर्वाचन क्षेत्रमा प्रदेशसभाको ‘क’बाट चुनाव लड्दैछन्। पार्टीको प्रत्यक्ष राजनीतिमा खासै सक्रिय नरहेका अनुराग नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसम्म भएका छन्।

यसअघि खुमबहादुर पत्नी शिला खड्कालाई नेपाली कांग्रेसले दुईपटक समानुपातिक सांसद बनाइसकेको छ। अहिले उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुन्।

नेकपा एमालेको यहाँ गंगाराम भट्टराई उम्मेदवार छन्। २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट प्रदेशसभाका लागि नेकपा एमालेका रेवतीरमण शर्माले जितेका थिए।

अर्को हो- एमालेको शाख। जहाँ उसले शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ। कम्लहरी र भुमिअधिकारको लडाईबाट उदाएकी शान्तालाई सुरुमा नेकपा एमालेले नै समानुपातिक सांसद बनाएको थियो।

अहिले उनै शान्ता एमालेको त्यही शाख फर्काउन चुनावी मैदानमा उत्रिएकी छिन्, जसलाई अघिल्लोपटक मेटमणि चौधरीले लिएका थिए।

तर मेटमणि अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् र गठबन्धनका तर्फबाट उनी प्रतिनिधिसभाका लागि यही क्षेत्रमा उम्मेदवार छन्।

अनि तेस्रो हो- एकीकृत समाजवादीको प्रतिष्ठा। अघिल्लोपटक नेकपा एमाले र माओवादीको गठजोडबाट क्षेत्र नं १ बाट जितेका मेटमणि यसपालि समाजवादीको प्रतिष्ठा स्थापित गर्न कस्सिएका छन्। उनी अहिलेका सहरी विकास मन्त्री पनि हुन्।

लुम्बिनी प्रदेशको राजधानी पनि यही क्षेत्र हो।

कार्यकालको अन्तिम समयमा बुटवलबाट स्थायी राजधानी दाङको यही क्षेत्रमा सारेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल बुटवलवासीका लागि आलोचित भए र दंगेलीले प्रशंसा गरे।

एमालेले दाङमा चुनावका लागि स्थापित गरेको एउटा मुख्य मुद्दा पनि यही नै हो। यसपालि पोखरेल यही क्षेत्रबाट चुनाव लड्ने सुरुवाती चर्चा चलेको थियो। तर नेकपा एमालेले उनलाई क्षेत्र नं २ बाट सिफारिस गर्‌यो।

यसअघिको स्थानीय निर्वाचनमा यहाँ नेपाली कांग्रेसले एक्लै लमही नगरपालिका जितेको थियो। थारू, मधेसी र पहाडीको मिश्रित समुदायले बाक्लिएको यो क्षेत्रमा एउटै समुदायका दुई उम्मेदवारको कडा प्रतिस्पर्धा हुनेछ।

शान्ताका लागि यो निर्वाचन क्षेत्रमा एउटा चुनौती गंगा चौधरी हुनेछिन्। थारू आन्दोलनबाट उदाएर नेकपा एमाले प्रवेश गरेकी गंगा चौधरीले टिकट नपाएपछि ‘स्वतन्त्र’ उम्मेदवारी दिएकी छिन्।

शान्तालाई राजनीतिक सहयात्री बनाएकी गंगाले केही दिनअघि मात्रै उनीसँगको एउटा तस्विर सार्वजनिक गर्दै पार्टीले जसलाई टिकट दिए पनि एकअर्काको सहयात्री बन्ने बताएकी थिइन्। तर केही दिनपछि एमालेले शान्तालाई उम्मेदवार बनायो र उनले समाजिक सञ्जालमा आक्रोश पोख्दै ‘स्वतन्त्र’ उम्मेदवारी दिने घोषणा गरिन्।

सुरूमा एमालेको सक्रिय कार्यकर्ता रहेकी उनी २०६४ सालमा थरूहट तराई पार्टीमा जोडिइन्। त्यही पार्टीबाट २०६४ र २०७०मा समानुपातिक सांसद बनेकी उनी २०७४ मा एमालेमै फर्किइन् र फेरि पनि समानुपातिक सांसद बनिन्। यसपालि टिकट नपाएपछि उनले एमाले छोडेको घोषणा गर्दै ‘स्वतन्त्र’ उम्मेदवारी घोषणा गरेकी हुन्।