दसैं सकिएसँगै देशमा सुरु भयो चुनावी माहोल

दसैं सकिएसँगै देशमा चुनावी माहोल सुरु भएको छ। आइतबार दसैंको अन्तिम (पाँचौ) दिन अर्थात कोजाग्रत पूर्णिमासँगै समाप्त भएको छ।
अब योसँगै देश पूरै चुनावमा होमिएको छ। आइतबार नै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले देशभरिका निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्।
आइतबार देशभरका १६५ प्रतिनिधिसभा तथा ३३० प्रदेशसभाका निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ।
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैचरणमा हुनेछ।
यसपालि सत्ता साझेदार दलहरूले गठबन्धन गरेका छन्। तीमध्ये उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी भने बाहिरिएको छ। र, सत्ता बाहिर रहेका महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी यो गठबन्धनमा मिसिएको छ।
जसपाले एमालेसँग तालमेल गरेको छ। एमालेले जसपालाई मधेसका १७ सिटमा सघाउने भएको छ। त्यस्तै राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पनि चुनावी तालमेल भएको छ।
राप्रपा र एमालेबीच केही चुनावी क्षेत्रमा मात्रै तालमेल भएको हो। कमल थापा भने सूर्य चिह्न लिएर आफ्नै गृहजिल्ला मकवानपुरबाट चुनाव लड्दैछन्।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट उम्मेदवारी दिएका छन्। उनका साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने यसपालि चुनाव लड्न गोखरा पुगेका छन्। त्यो क्षेत्रमा नियमित चुनाव लड्दै आएका बाबुराम भट्टराईले यसपालि कुनै पनि चुनाव नलड्ने घोषणा गरेका छन्।
त्यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको निर्वाचन क्षेत्र नं ५बाट उम्मेदवारी दर्ता गराएका छन्। यो उनको नियमित क्षेत्र हो।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट- १बाट उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै उपेन्द्र यादव सप्तरी २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेसमेत असोज २३ गते नै साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपरान्ह ३ बजेसम्म, मनोनयपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ।
यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्न २६ गते अपरान्ह ४ देखि साँझ ७ बजेसम्म र मतदान आगामी मङ्सिर ४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ।
यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता सङ्ख्या छ।
यीमध्ये पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार आठ सय ६, महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ छ। निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ।
निर्वाचनका लागि आयोगले यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी एक सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ।
ताजा अपडेट
