लगातार बर्षाका कारण दशैं प्रभावित

काठमाडौं। लगातार वर्षाका कारण यसपालि दसैं प्रभावित भएको छ। दुई दिनदेखि लगातार वर्षा भइरहेको छ। वर्षाका कारण यसपालि ‘हिले दसैं’ हुने भनेर मौसम पूर्वानुमान महाशाखाले यसअघि नै सतर्कता अपनाउन आग्रह गरेको छ।
दसैंको आठौं दिनदेखि सुरु भएको वर्षा अझै थामिएको छैन।
मौसम पूर्वानुमान महाशाखाका अनुसार रातिदेखि नै देशका अधिकांश स्थानमा पानी परिरहेको छ। केही ठाउँमा भारी वर्षा भएको छ। भारी वर्षाका कारण प्युठान, दाङ, बाँके जिल्ला भएर बहने अधिकांश साना खहरे खोलामा आकस्मिक बाढीको उच्च सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो १२ बजेसम्म नै आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
दक्षिण पश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले मंगलबार दिउँसोदेखि नै देशभर पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले प्रदेश १, मधेश र बागमती प्रदेशका केही तथा गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।
मौसमी प्रणालीको प्रभावले बुधबार दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ। आज मधेश प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। अरू ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बुधबार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ।
ताजा अपडेट
