आज बिजयादशमीः ११ः५१ मा उत्तम साइत,टीका लगाइदिने पूर्व फर्कनुपर्ने

आज बिजयादशमीः ११ः५१ मा उत्तम साइत,टीका लगाइदिने पूर्व फर्कनुपर्ने

काठमाडौं। आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाइ हर्षोल्लासका साथ विजयादशमी मनाइँदै छ।

बडादसैंको साइत बिहान ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ।

समितिकाअनुसार १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः ५१ टिका लगाउँदा उत्तम हुनेछ।

आज दिनभर टिकाग्रहणका लागि उपयुक्त रहको समितिले जनाएको छ।

विजयादशमीका दिन बिहान नवदुर्गाको पूजाआराधना गरी जया, विजया, अजिता, अपराजित गरी चार देवीको पूजा गरेर विसर्जन गरिन्छ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ।

घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ।

घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप टिका र जमरा लगाउने वैदिक परम्परा रहेको छ।

केही जाति र सम्प्रदाय विशेषले भने सेतो अक्षताको टिका लगाएर पनि विजयादशमी पर्व मनाउँछन्।

नौ दिन दसैंघरमा दुर्गा भवानीको पुजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ।

टीका लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने

विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने पञ्चाङ्ग समितिले जनाएको छ। टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्नेछ। टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ। जमराले विभिन्न रोग व्याधमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिकरूपमा समेत पुष्टि भइसकेको छ। कोरोना भाइरस एवं डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्वपूर्ण दिन हो।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ। यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।



No ads found for this position