पाँच महिनाअघि एनआरएनए अमेरिकाले विदाई गरेका पत्रकार अझै नेपाल आएनन्

पाँच महिनाअघि एनआरएनए अमेरिकाले विदाई गरेका पत्रकार अझै नेपाल आएनन् विदाईपछि एनआरएनए अमेरिकाको टोलीसँग पत्रकारहरू (दायाँबाट तेस्रो र चौथो)

काठमाडौं। क्रिकेटको रिपोर्टिङका लागि अमेरिका पुगेका दुई खेल पत्रकार अझैसम्म नेपाल फर्किएका छैनन्।

आइसीसी विश्वकप लिग–टु क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाको रिर्पोटिङका लागि नेपाली क्रिकेट टीमसँगै अमेरिका पुगेका पत्रकार रोशनबहादुर सिंह र कौसल अधिकारी ५ महिना वित्तिसक्दा पनि नेपाल फर्किएका छैनन्।

सिंह कान्तिपुर टेलिभिजनमा आवद्ध पत्रकार हुन भने अधिकारी क्रिकेटिङ नेपाल डटकमका हुन्।

नेपाली टोली गत १४ जेठ (२८ मे) मा अमेरिका प्रस्थान गरेको थियो।

‘उहाँहरु कहाँ के गर्दै हुनुहुन्छ? अत्तपत्तो छैन। उहाँहरु हाम्रो (क्यान) सम्पर्कमा हुनुहुन्न,’ क्यानका एक उच्च पदाधिकारीले प्रवास खबरसँग भने, ‘रिपोर्टिङका लागि गएका साथीहरु यसरी बेपत्ता हुँदा देशकै बेइज्जत भयो। यसको दीर्घकालिन असर क्यानलाई पर्छ। भविष्यमा साँच्चिकै रिपोर्टिङका लागि जाने पत्रकारलाई भिसाको समस्या हुनसक्छ।’

सोही खेलको रिपोर्टिङ गर्न उनीहरुसँगै गएका कान्तिपुर दैनिकका विनोद पाण्डे, हाम्रो खेलकुदका सुवास हुमागाइँलगायतका पत्रकारहरू भने नेपाल फर्किसकेका छन्।

रोचक कुरा त के छ भने अझैसम्म नेपाल आइनपुगेका यी दुई पत्रकारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले विदाई समेत गरेका छन्।

२३ जुलाइमा एनआरएनए अमेरिकाका सचिव अनुप खनालले उनीहरुलाई विदाई गर्दै यात्रा सफलताको कामना गरेका हुन्।

‘वरिष्ठ खेलकुद पत्रकारद्वय रोशन बहादुर सिंह र कौसल अधिकारी ज्युहरुको नेपाल यात्रा सुख्द रहोस्,’ सचिव खनालले आफ्नो फेसबुकमा सामूहिक फोटो राखेर शुभकामना दिएका छन्।

उक्त विदाई समारोहमा एनआरएनए मेरिल्याण्ड च्याप्टरका सचिव प्रविण खड्का, गोर्खा समाज मेरिल्याण्डका अध्यक्ष अपर श्रेष्ठ, बाल्टिमोरका अध्यक्ष रमेश भट्ट, महासचिव विश्व किरण थापा र बाल्टिमोर क्रिकेट क्लबका संस्थापक उत्सव सिग्देललगायतको उपस्थिति देखिन्छ।

यसविषयमा प्रवास खबरले एनआरएनए अमेरिकाका सचिव खनालसँग फेसबुक म्यासेन्जरबाट सोधपुछ गरेको थियो। तर, खनालले रेन्सपोन्स गरेका छैनन्।

विदाई गरेका पत्रकार अहिलेसम्म नेपाल नआइपुग्नु र एनआरएनएका पदाधिकारीले विदाइ गर्दै यात्रा सफलताको कामना गर्नुले यसलाई अमेरिकामै बस्ने एनआरएनएकै केही पदाधिकारीले रहस्यको रुपमा हेरेका छन्।

उनीहरुलाई अमेरिकामा बस्न चाँजोपाँजो मिलाउन एनआरएनएकै पदाधिकारीले सहयोग गरेको हुनसक्ने उनीहरुको बुझाइ छ।

‘उनीहरुलाई यहाँ बस्न एनआरएनए अमेरिकाकै पदाधिकारीले सहयोग गरेको देखिन्छ। कार्यक्रमको लागि भनेर आउने कलाकार, पत्रकारहरु लुकेर बस्ने नौलो विषय होइन,’ अमेरिकाबाट एनआरएनए आइसीसीमा प्रतिनिधित्व गर्ने एक उच्च पदाधिकारीले प्रवास खबरसँग भने, ‘फेसबुकमा विदाइ गरेर नाटक मात्र गरेका हुन्।’

नेपालले लिग–२ शृंखलाअन्तर्गत पहिलो खेल ओमनसँग ९ जुनमा खेलेको थियो। त्यसपछि ११ जुनमा नेपाली टिमले अमेरिकासँग खेलेको थियो। यस्तै १४ जुनमा ओमनसँग दोस्रो खेल खेलेको थियो। यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेलेको थियो।

त्यसअघि नेपालले स्थानीय क्लब नेपाली अलस्टार्ससँग दुई अभ्यास खेल खेलको थियो। सम्पूर्ण खेल ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा भएको थियो। नेपाली क्लबसँग खेल्न एनआरएनए अमेरिकाले नै सहजिकरण गरेको थियो।

त्यतिबेला ती पत्रकारहरू अमेरिकामा सम्मानित पनि भएका थिए।

हाम्रो खेलकुद डटकमको समाचार अनुसार अमेरिकामा दुई नेपाली फुटबलरसँगै खेलकुद पत्रकार सिंह र अधिकारी पनि सम्मानित भएका हुन्।

फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार सिंह र फोटो पत्रकार अधिकारी सम्मानित भएका थिए।

अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हाम्रो खेलकुद डटकमको समाचारमा उल्लेख छ।

उनीहरुलाई डिस्ट्रिक्ट आठका डेलिगेट्स हेरी भण्डारीले सम्मान गरेका थिए। समाचार अनुसार सिंहलाई नेपाली खेलकुदमा पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पुर्‍याएकाे ठहर गर्दै सम्मान गरिएको थियो भने अधिकारीलाई फोटो पत्रकारितामा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो।