श्रीमान खाेजिरहेकी सावित्रा, जसले एनआरएनएको युरोप सम्मेलनलाई नै भावुक बनाइदिइन्

श्रीमान खाेजिरहेकी सावित्रा, जसले एनआरएनएको युरोप सम्मेलनलाई नै भावुक बनाइदिइन्

स्वीडेनमा चलिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय सम्मेलनमा बेल्जियमका पूर्व अध्यक्ष चित्र सुवेदी मञ्चमा बोलिरहँदा सबै मौन देखिन्थे।

उनका कुरा सुनेर कतिपय भावुक पनि बनेका थिए।

सुवेदीले बोल्दै गर्दा पछाडि पट्टी एकजना अधबैँसे व्यक्तिको फोटो पनि देखियो। चित्रले जब उनका बारेमा सबै बताउँदै गए, तब मञ्चमा बसेर सुनेकी एनआरएन बेल्जियमकी सचिव सावित्रा गिरीले आफूलाई थाम्न सकिनन्।

उनलाई असह्य पीडा भयाे। एकाएक उनको आँखाबाट आँसु खसिरहे, बोलीमा पीडा मिसिएर आयो।

नआओस् पनि किन् ? विगत ५ वर्षअघि जीवनसंगी कमल भारतीले घर छोडेर हिँडेपछि सुरुका धेरै दिन सावित्राका आँखा ओभाएनन्। धेरै रातहरु आँखा झिमिक्क नगरी बिते। खोजीका लागि धेरै ठाउँ प्रयास गरिन्। प्रहरीकोमा पनि गइन्। तर,सबै प्रयास असफल नै रहे।

अन्तत: एनआरएनएमा आफ्नो दुखेसो पोखिन् र आफ्ना श्रीमान् खोजी गरिदिन सबैलाई आग्रह गरिन्। सावित्रा सुरुमा आफैं मञ्चमा गएर आग्रह गर्ने योजनामा थिइन् तर, सकिनन्। पछि चित्रले उनको अपिललाई सबै समक्ष पढेर सुनाए।

२६ फेब्रुअरी २०१७ देखि हराइरहेका उनका श्रीमानको अहिलेसम्म कुनै अत्तपत्तो नै छैन।

‘परिवारलाई कहाँ जाने भन्ने कुनै जानकारी नदिएर र मलाई नखोज्नु भनी म र छोरा छोरीलाई अलपत्र पारी हराउनुभएको छ। हामीले बेल्जियमको पुलिसलगायत अन्य संघसंस्थाहरुलाई हारगुहार गर्दा पनि कुनै उपलब्धि नभएकोले यहाँहरुलाई खोजी गर्नका लागि हार्दिक अपिल गर्दछु’, उनले भनेकी छिन्।

सावित्रा गिरी र कमल भारती विगत लामो समयदेखि बेल्जियमको ब्रुज सहरमा बस्दै आएका थिए। उनीहरूका दुई छोरी र एक छोरा छन्। व्यवसायमा राम्रो जमेर बसेका कमल एकाएक हराउँदा यहाँस्थित नेपाली समाजमा पनि सन्नाटा छाएको थियो।

श्रीमान हराएपछि सवित्राले चलिरहेको व्यवसाय बेचिन्। लागेका ऋण सबै विस्तारै तिर्दै गइन्। धेरैले धेरै कुरा गरेपनि खोजीको लागि सावित्रा एक्लै आफूले भ्याएसम्म लागिपरिन्।  तर, प्रगति केही भएन।

घरबाट हिँडेपछि कमल इटाली पुगेका थिए। भेनिस सहरमा रहेको होटल स्पाग्नामा १ मार्च २०१७ मा चेक इन भएका कमल एकरात बिताएको होटलले बताएको थियो। त्यसपछि उनको कुनै अत्तोपत्तो छैन।