कम भएन दक्षिण कोरियामा कोभिड सङ्क्रमण

कम भएन दक्षिण कोरियामा कोभिड सङ्क्रमण

सउल। दक्षिण कोरियामा कोरोना भाइरसबाट थप १४ हजार भन्दा धेरै सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप १४ हजार १६८ जना सङ्क्रमित भएका हुन्।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ४६ लाख ३४ हजार छ सय ३४ पुगेको स्वास्थ्य अधिकारीहरुको भनाई छ। दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको छ। अघिल्लो दिन २५ हजार सात सय ९२ जना सङ्क्रमित भएका थिए। अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या ३१ हजार पाँच सय १३ रहेको थियो।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये चार सय २७ जना गम्भीर अवस्थामा रहेका छन्। यो सङ्ख्या भने अघिल्लो दिनको भन्दा ११ ले बढी हो।

दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ। योसँगै कोरियामा कोरानाका कारण कुल मृतकको सङ्ख्या २८ हजार २४६ पुगेको छ। विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दा समेत दक्षिण कोरियामा भने फैलिइरहेको छ। महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्ण रुपमा नियन्त्रण गर्न असफल भएको छ।