विदेशमा पसिना बगाइरहेका श्रमिकको भविष्यमा कालो बादल मडारिएको छ : आरके शर्मा

विदेशमा पसिना बगाइरहेका श्रमिकको भविष्यमा कालो बादल मडारिएको छ : आरके शर्मा फाइल फोटो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) ले विदेशमा पसिना बगाइरहेका नेपाली श्रमिकहरुको भविष्यमा कालो बादल मडारिएको बताएका छन्।

वैदेशिक रोजगारीमा रहेका श्रमिकले पठाएको रेमिट्यान्स् अनुत्पादक क्षेत्रमा खर्च भइरहेको बताउँदै शर्माले यसले श्रमिकको भविष्य नै अन्धाकार हुने चिन्ता व्यक्त गरेका हुन्।

आगामी कार्यकालमा अध्यक्षका प्रत्यासी समेत रहेका शर्माले स्वीडेनमा आयोजित संघको युरोप क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै विदेशी भूमिमा जवानी सकाएर बुढेसकालमा रित्तो हात फर्किने श्रमिकप्रति सरकार संवेदनशिल हुनुपर्ने बताए।

‘अहिले रेमिट्यान्स्को करिव ७० प्रतिशत अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ,’ उनको चिन्ता छ, ‘भोलि खालि हात फर्किने श्रमिक साथिहरुको अवस्था कस्तो होला ? उनीहरुको भविष्यमा कालो बादल मडारिएको छ।’

रेमिट्यान्सको सही सदुपयोग नै राष्ट्र विकासको रामवाण भएको उनले बताए।

सरकारले देशमा विदेशी मुद्रा सञ्चिति बढाउने र वैदेशिक लगानी भित्र्राउने लक्ष्य लिएपनि रेमिट्यान्स् भने अनुत्पादक क्षेत्रमा खर्च भइरहेको उनको भनाइ छ।

‘वैदेशिक मुद्रा सञ्चिति अनि वैदेशिक लगानीको सुगा रटन गरी रहँदा हामिले पठाएको विप्रेशन भने अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। विलाशिताका सामान आयात गर्न फेरि विदेशिएको तितो यथार्थ छ,’ उनले भने।

श्रमिकले पठाउने रेमिट्यान्स्को वार्षिक १० प्रतिशत मात्र पनि सरकारले लगानी गरे देशमा ठूलो पुँजी संकलन हुने शर्मा बताउँछन्। उनले भने, ‘सरकारले समयमा आखाँ खोली हामिले वार्षिक पठाउने ९९ अर्वमध्ये १० प्रतिशत मात्र लगानीमा परिणत गर्न सके ठूलो पुँजी जम्मा हुन्छ।’

रेमिट्यान्स्को उचित प्रयोगका लागि सरकारले वातावरण बनाउन ढिलो गर्न नहुने भनाइ शर्माको छ।

शर्माले न्यून र मध्यम आय भएका मध्यपूर्व तथा एसियाली मुलुकमा कार्यरत श्रमिकहरुलाई समेटी सामूहिक लगानीको अवधारणा बनाएमा मात्र राष्ट्रको विकास हुने बताए। सामूहिक लगानी एनआरएनएको नारा भएपनि अहिलेसम्म यसको सुरुवात हुन नसकेको शर्माको भनाइ छ।

उर्जा लगायतका मेगा प्रोजेक्टहरु छिट्टै निर्माण गर्नसके रेमिट्यान्स् पठाउने गैरआवासीय नेपाली र देश दुवैलाई ठूलो फाइदा हुने विश्वास उनको छ।

‘विदेशमा रहेका धेरै नेपालीहरु केही समयपछि देशमै फर्किन आत्तुर छन्। विदेशमा सिकेको ज्ञान, सीप र आर्जन गरेको पुँजी देशमा लगानी गर्न चाहान्छन्,’ उनले भने, ‘सरकारले लगानीमैत्री वातावरण बनाइदिनुपर्‍यो।’

यस्तै उनले वैदेशिक रोजगारमा श्रमिकहरुलाई नेपालको सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने काम भइरहेको जानकारी गराए । ‘अब श्रमिकका समस्याको दीर्घकालीन समाधान निकाल्न जरुरी छ। सामाजिक सुरक्षा कोषमा समेट्ने काम भइरहेको छ,’ उनले भने।

पछिल्लो समय मानव तस्करी विकाराल समस्या भएको बताउँदै शर्माले यसलाई रोक्न संघले काम गर्नुपर्ने बताए।

सम्बोधनका क्रममा शर्माले एनआरएनएको अभियानमा मध्यपूर्वको सधै  भूमिका अग्रणि रहेकाे उल्लेख गरे।