युराेपमा मानव तस्करी रोक्न स्वीडेन सम्मेलनमा एनआरएनएकाे बहस

युराेपमा मानव तस्करी रोक्न स्वीडेन सम्मेलनमा एनआरएनएकाे बहस

काठमाडौं। वैदेशिक रोजगारीका लागि युरोपियन देशहरुमा नेपाली युवाहरुको आकर्षण बढीरहेको छ। तर, नेपालबाट सजिलै युरोप रोजगारीमा जान भने सम्भव छैन।

नेपाली युवाहरुले गैरकानूनी बाटो अपनाएर भएपनि युरोप छिर्ने गर्छन्। १५ लाख रुपैयाँसम्म खर्च गरेर अवैध बाटोबाट युरोप पुगेका नेपालीहरुको वास्तविक अवस्था भने भयावह छ।

सयौं नेपाली त्यहाँ पुगेपछि बिचल्लीमा पर्ने गरेको पाइन्छ। श्रम शोषण, जोखिमपूर्ण काम र लाखौं लगानीले धेरै युवा बर्बाद भइरहेका छन्।

पछिल्लो समय मानव तस्करीको अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर नेपाली दलालहरुले यूएई, टर्की, ग्रिसलगायतका मुलुकहरुलाई ट्रान्जिट बनाएर मानव तस्करी गरिरहेको विभिन्न अध्ययन तथा विदेशी सञ्चार माध्यममा खवर आइरहेका हुन्छन्।

नेपालबाट बढ्दो मानव तस्करी र त्यहाँ पुगेपछि बिचल्लीमा पर्ने क्रम बढेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि यसलाई रोक्न चासो देखाएको छ।

यही २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोममा आयोजित १४ युरोप क्षेत्रीय सम्मेलनमा संघले यसलाई बहसको मुद्धा बनाएको छ।

संघका युरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराईले सम्मेलनमा बहसका लागि विभिन्न सेसन राखिएको बताउँदै यो मुद्धा पनि प्राथामिकताका साथ उठाइने बताएका छन्।

‘सम्मेलनमा सुरक्षित र मर्यादित वैदेशिक रोजगारी भन्न्ने विषयमा व्यापक छलफल गर्दैछौं। युरोपमा पनि नेपालीका धेरै समस्या छन्। मानव तस्करीबाट पीडित हुनेको संख्या पनि ठूलो छ,’ सम्मलेनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘युरोप रोजगारीमा देखिएका समस्या र मानव तस्करीले उत्पन्न गराएका समस्यमाप्रति हामि गम्भिर छौं। सम्मेलनले केही निचोड पक्कै निकाल्छ।’

सम्मेलनमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल पनि विशेष अतिथिका रुपमा सहभागि हुँदैछन्। श्रम सचिवको उपस्थितिले पनि श्रमिकका मुद्धा समाधानमा सहज हुने उनको विश्वास छ।

‘पार्टनरसीप इन एक्सन फर ट्रन्सफरमेसन’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा युरोपका विभिन्न देशबाट ३ सय बढी प्रतिनिधि सहभागिता रहने अर्का युरोप संयोजक चिन्तामणि सापकोटाले बताए।

उनका अुनसार युरोप क्षेत्रीय महिला तथा विज्ञ सम्मेलन पनि एकैपटक हुँदैछ।