१३ सय दिराम तलबमा कार सफा गर्ने नेपाली युवालाई यूएईमा ३५ करोडको चिठ्ठा

१३ सय दिराम तलबमा कार सफा गर्ने नेपाली युवालाई यूएईमा ३५ करोडको चिठ्ठा

काठमाडौं । रोजगारीको लागि संयुक्त अरव इमिरेट्स (यूएई) पुगेका एक नेपाली युवालाई १ करोड दिराम (नेपाली झण्डै ३५ करोड रुपैयाँ) को चिठ्ठा परेको छ।

गुल्मिका ३१ वर्षीय भरत बिकले ‘महजुज ड्र’ मार्फत पहिलो विजेता हुँदै यो रकम प्राप्त गर्ने भएका हुन्।

भरत ३ वर्षअघि रोजगारीको लागि यूएई पुगेका थिए। भरतले यूएईको एक कम्पनिमा कार सरसफाइको काम गर्थे। कार धोए वापत उनले मासिक १३ सय दिराम तलब पाउँथे।

स्थानीय पत्रिका खालिज टाइम्सका अनुसार भरत आफ्नो भाइको उपचारका लागि आर्थिक जोहो गर्न यूएई हानिएका थिए। उनका २५ वर्षीय भाइ ब्रेन ट्युमरबाट पीडित छन्।

भरतका बुवा पनि भारतमा रोजगारी गर्छन्। भारतमा डाइभरको काम गर्ने बुवा र भरतले मिलेर भाइको उपचार गर्दै आएका थिए।

‘मेरो भाइको नयाँ दिल्लीमा उपचार भइरहेको छ,’ उनले भने, ‘एक शल्यक्रियाको क्रममा, उसलाई पक्षाघात भएको थियो। जसका कारण उसको कानको श्रवण शक्ति गुमेको छ। यो पैसाले भाइको राम्रो उपचारमा सहयोग पुग्नेछ।’

बुवाको बैंक खाता समेत नभएको हुनाले भरतले जितेको पैसा पठाउन समस्या भइरहेको बताइएको छ। महजुज ड्र सञ्चालकका प्रतिनिधि फरीद सामजीले बैंक खाता खोलेर पैसा पठाइने बताएका छन्।

भरतका ५ वर्षीय छोरा र ३ वर्षीय छोरी छन्। उनले उक्त पैसा आफ्ना छोराछोरीको उज्जवल भविष्यका निम्ति पनि खर्चिने बताएका छन्।

भरतले दुबई पुगेपछि पहिलो पटक २७ सेप्टेम्बरमा नेपाल फर्किने योजना बनाएका थिए। तर, घर फर्किनु अघि अन्तिम पटक चिठ्ठा खरिद गर्ने निधो गरेका थिए।

‘बिहानको १ बजेको थियो। अन्तिम पटक खेल्छु भन्ने सोचें,’ उनले भने।

भरतले यूएई जानुभन्दा अघि साउदी अरबमा काम गर्थे। विगत साढे दुई वर्षदेखि उनी महजुजका नियमित खेलाडी हुन्।

दुबईबाट नेपाल फर्किनुअघि केही जित्छु भन्ने आफ्नो मनमा लागेकोले निरन्तर महजुजमा प्रयास गरिरहेको उनले बताएका छन्।

भरतलाई यो चिठ्ठाको बारेमा सुरुमा आबुधावी बस्ने काकाका छोराले बताएका थिए।

भरतले १६, २७, ३१, ३७,४२ नम्बरहरूमध्ये पाँच वटै मिलाएर यति ठूलो रकम जितेका हुन्।

उनले यीमध्ये १६ र २७ नम्बरहरू आफ्ना लागि विशेष भएकाले आफूले सधैं आफ्नो छान्ने गरेको बताएका छन्। किनभने २७ भरतको जन्मदिन हो भने १६ विवाह गरेको दिन।

भरतले आफू सबै औपचारिकता पूरा गरेर नेपाल फर्किने बताएका छन्।

‘मैले कति जितेको छु, परिवारलाई भनेको छैन। मैले उनीहरूलाई यो ड्र जितेको मात्र बताएको छु। घर फर्केर सप्राइज दिन चाहान्छु,’ उनले भने।

आफूले चिठ्ठा जितेपछि म्यानेजरसहित कम्पनिमा काम गर्ने अन्य साथिहरु पनि खुसि भएको भरतले बताए।