पाकिस्तानमा डेङ्गु सङ्क्रमणको कारण २७ को मृत्यु

पाकिस्तानमा डेङ्गु सङ्क्रमणको कारण २७ को मृत्यु

इस्लामावाद। पाकिस्तानमा डेङ्गु ज्वरोको फैलावट लगातार बढिरहेको छ। यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेङ्गु सङ्क्रमणको कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ।

यस सङ्क्रमणको कारण मृत्यु भएका सबै सिन्ध प्रान्तको प्रान्तीय राजधानी अर्थात देशको सबैभन्दा ठूलो सहर कराचीमा भएको बताइएको छ। पछिल्लो २४ घण्टामा सिन्ध प्रान्तमा कुल तीन सय ५३ जना नयाँ सङ्क्रमित भएका विभागले मङ्गलबार साँझ जानकारी दिएको छ।

सेप्टेम्बरमा बिरामीको सङ्ख्या तीन हजार ५ सय ९४ पुगेको छ। वर्षभरि कुल बिरामीको सङ्ख्या छ हजार एक ६३ पुगेको छ। उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय ८४ लाई डेङ्गु सङ्क्रमण भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ।

यसवर्ष खैबर पख्तुनख्वा प्रान्तमा एक हजार सात सय २९ सक्रिय सङ्क्रमितको सङ्ख्या रहेका छन्। कुल सङ्क्रमितको सङ्ख्या पाँच हजार दुई ६४ पुगेको बताइएको छ । यसबाहेक, पूर्वी पञ्जाब प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय १५ सङ्क्रमित भएका प्रान्तीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार बिहान जानकारी दिएका छन्।

पञ्जाबको राजधानी लाहोरमा एक सय पाँच जना सङ्क्रमित भएका छन्। रावलपिंडी सहरमा ५४ जनामा सङ्क्रमण देखिएको छ। यसवर्ष रावलपिंडीमा कुल सङ्क्रमितको सङ्ख्या तीन हजार ६ सय ४५ पुगेको छ।