मस्कटको शेराटन होटलमा नेपालको संविधान दिवस

मस्कटको शेराटन होटलमा नेपालको संविधान दिवस

मस्कट। नेपालको संविधान दिवस ओमनमा पनि मनाइएको छ। मस्कटस्थित शेराटन होटलमा एक कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको हो।

नेपाली दूतावास मस्कटका अनुसार कार्यक्रममा ओमनका राष्ट्रिय महोत्सव सचिवालयका महासचिव शेख सिबा हमदान बिन सिबा अल साअदी प्रमुख अतिथि थिए।

यस्तै स्टेट काउन्सिल (प्रतिनिधि सभा) र शुरा काउन्सिल (राष्ट्रिय सभा) का सदस्यहरु, परराष्ट्र मन्त्रालयका प्रशासन तथा आर्थिक मामिला सचिव, शिष्टाचार महापाल, पश्चिम एशिया महाशाखा प्रमुखलगायत विभिन्न कूटनीतिक नियोगका प्रमुखहरु, विभिन्न सरकारी उच्च पदस्थ अधिकारीहरु, पत्रकार, उद्योग व्यवसायी, नेपाली समुदायका प्रतिनिधिहरु, राजदूतावासका कर्मचारी कार्यक्रममा सहभागि थिए।

प्रमुख अतिथि र नेपाली राजदूत डोरनाथ अर्यालले संयुक्तरुपमा केक काटी राष्ट्रिय दिवसको उत्सव मनाएका थिए।

सम्बोधन गर्दै राजदूत अर्यालले संविधानको महत्वपूर्ण विशेषताहरु, नेपाल र ओमनबीचको सम्बन्धमाथि प्रकाश पारेका थिए।

उनले राजनीतिक स्थायीत्व पश्चात अहिले नेपालले आर्थिक, सामाजिक विकास तथा नेपालीहरुको समृद्धिको लागि आफ्नो प्राथमिकता र योजनाहरु केन्द्रित गरेको जानकारी गराए।

यस्तै अर्यालले नेपालमा थप निर्माण गरिएका दुई अन्तरराष्ट्रिय विमानस्थलसहित तीन अन्तरराष्ट्रिय विमानस्थलको निर्माणबाट पर्यटन र आर्थिक गतिविधिमा उल्लेख्य टेवा पुग्ने बताउँदै नेपाल विश्वका ठूला आर्थिक शक्ति राष्ट्रहरुकोबीचमा रहेको र यसको रणनीतिक अवस्थिति व्यपार र लगानीको लागि ठूलो अवसरको रुपमा रहेको बताएका थिए।

कार्यक्रममा नेपाली फुड कर्नर स्थापना गरेर नेपाली खानाहरु पस्किइएको थियो। यस्तै नेपाली हस्तकला तथा उत्पादनका सामानहरु प्रदर्शन गरिएको थियो।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओमनबाट काठमाडौं जाने–आउने तीनवटा र भैरहवा जानेआउने एउटा गरी चारवटा हवाई टिकट र चन्द्रागिरी हिल रिसोर्टमा दुई रात दुई–दुई जना बस्ने भौचर चिठ्ठामार्फत उपलब्ध गराइएको थियो।

कार्यक्रमको संचालन यस नियोगका उपनियोग प्रमुख सोमेश थापाले गरेका थिए।