तीन अध्यक्ष बनाएपछि मुख देखाएर हिँड्न लाज भयो : उपाध्यक्ष, डा. शर्मा

तीन अध्यक्ष बनाएपछि मुख देखाएर हिँड्न लाज भयो : उपाध्यक्ष, डा. शर्मा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संघमा तीन अध्यक्ष बनाएपछि मुख देखाएर हिँड्न लाज भएको बताएका छन्।

नेकपा एमालेको प्रवास विभाग संगठन प्रवासी नेपाली मञ्चले आयोजना गरेको एउटा कार्यक्रममा सम्बोधन गर्दै डा. शर्माले तीन अध्यक्ष बनाएपछि मुख देखाएर हिँड्न लाज हुने अवस्था श्रृजना भएको बताएका हुन्।

निवर्तमान महासचिव समेत रहेका शर्माले आगामी वर्ष चुनाव गराउन नसके संस्था नै विघठन हुने दाबी गरेका छन्। सन् २०२३ को अक्टोबरमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने, यदी त्यसो नभएको खण्डमा संस्था नै ध्वस्त हुनसक्ने दाबी उनकाे छ।

नेतृत्व चयनका लागि पूर्वआधार तयार गरेर प्रत्यक्ष मतदान गर्न सकिने डा. शर्माको भनाइ छ। ‘म सुरुदेखि नै साधारण सदस्यहरुबाटै नेतृत्व चयन गर्नुपर्छ भन्नेमा अडिग छु,’ उनले भने।

तर, संस्थाको सदस्यता लिएकै दिन केन्द्रीय नेतृत्वको लागि मतदान गर्न पाउने व्यवस्था गलत भएको उनले बताए।

अहिलेकै विधानमा न्यूनतम सहमति गरेर अघि बढ्न सकिने उनको भनाइ छ।

संघको विधान समितिका संयोजक समेत रहेका डा. शर्माले विधान निमार्ण भन्ने विषय प्राविधिक मात्र भएको बताउँदै वर्तमान नेतृत्वलाई सहमतिको खाका प्रस्तुत गर्न आग्रह गरे।

उनले संघको निर्वाचनमा मतदाता प्रभावित गर्न ठूलो आर्थिक चलखेल भएको बताउँदै चुनावमा लाइनमा बसेका मतदातालाई खाममा पैसा राखेर दिने विकृतिको अन्त्य गर्न जोड दिए।