दूतावासका कर्मचारीलाई मन्त्रीकाे निर्देशन: श्रमिकको हित हुने डिमाण्ड मात्रै स्वीकृत गर्नू

दूतावासका कर्मचारीलाई मन्त्रीकाे निर्देशन: श्रमिकको हित हुने डिमाण्ड मात्रै स्वीकृत गर्नू

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कुनै पनि देशले दिने डिमाण्ड जस्ताको त्यस्तै स्वीकृत नगर्न श्रम सहचारी र काउन्सिलरलाई अनुरोध गरेका छन्।

बिहीबार ९ वटा देशका श्रम सहचारी र काउन्सिलरसँग मन्त्रालयमा भएको भर्चुअल बैठकमा बोल्दै उनले डिमाण्ड आयो भन्दैमा राम्रोसँग बुझेर स्वीकृत नदिन आग्रह गरेका हुन्।

मन्त्री कुँवरले उहाँहरुलाई डिमाण्ड ल्याएर आएपछि राम्रोसँग बुझेर देश र श्रमिकको हित हुने खालको छ भने मात्रै स्वीकृत दिनुपर्नेमा जोड् दिनु पर्ने बताएका छन्।

उनले कसैको दबाब र धम्किको आधारमा डिमाण्ड स्वीकृत नगर्न पनि उनीहरुलाई आग्रह गरे।

डर, धम्की दिने व्यवसायीहरुसँग आफुले कुराकानी गर्ने पनि मन्त्री कुँवरले बताएका छन्।

उनले श्रम सहचारी र काउन्सिलरलाई देशको प्रतिनिधित्व गर्न सरकारले पठाएकाले आफ्नो भूमिका अनुसार काम गर्न निर्देशन दिए।

श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलरर श्रम सहचारीहरूले भूमिका खेल्नुपर्ने मन्त्री कुँवरले बताएका छन्।

साथै उनले नेपाली श्रमिकले गर्ने काम र पाउने तलबका विषयमा बेला बेला अनुगमन गरेर काम गर्न पनि अनुरोध गरेका छन्।

९ वटा देशका श्रम सहचारी र काउन्सिलरले मन्त्री कुँवरले आफूले काम गरिरहेको श्रम गन्तव्य मुलुकमा श्रमिकका समस्या, तलबको अवस्था, म्यानपावर व्यवसायीले गरेको ठगि, जेल र मृत्यु भएका व्यक्तिहरुको व्यवस्थापन, अलपत्र परेका व्यक्तिहरुलाई दूतावासले गरिरहेको सहयोग लगाएतका विषयमा जानकारी गराएका छन्।

उहाँहरुले नेपालीहरु काम गर्न भन्दा पनि भिजिट भिसामा गएर लुकेर बसेका कारण समस्यामा पर्ने गरेको जानकारी मन्त्रीलाई गराएका छन्।

भिजिट भिसालाई व्यवस्थापन गर्नका लागि सहयोग गरिदिन मन्त्री कुँवरलाई उनीहरुले आग्रह गरेका छन्। त्यस्तै सिप सिकेका कामदारलाई मात्रै विदेश पठाउनका लागि सरकारले विशेष पहल गर्नु पर्ने पनि उनीहरुले माग राखेका छन्।