यूएई पुगेका ९ नेपाली युवा १ वर्षदेखि जेलमा, चिनियाँले साइबर मुद्दामा फसाएको आशंका

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) को फुजेरामा ९ जना नेपाली युवा ११ महिनादेखि जेलमा छन्।
उनीहरुलाई अहिले यूएईको फुजेरास्थित सेन्ट्रल जेलको उड ब्लकमा राखिएको छ।
प्रवास खबरलाई प्राप्त कागजातअनुसार उनीहरु ‘भिजिट भिसा’ मा यूएई पुगेको देखिन्छ। पर्यटन भिसा लिए पनि उनीहरु रोजगारीको लागि यूएईका पुगेका थिए।
जेलमा थुनिनेहरुमा साजन राई, धरानका साजन राई, स्याङ्जाका शिवबहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्दी बहादुर थिङ, नवलपरासीका चोपबहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, सिन्धुपाल्चोकका प्रकाश भुजेल, सिन्धुपाल्चोककै बिनोद लामा र पाल्पाका सुर्य बहादुर नेपाली रहेका छन्।
बिनाकारण आफूहरु जेलमा परेको भन्दै उनीहरुले आबुधावीस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईसमक्ष उद्दारका लागि गुहार मागेका छन्।
दूतावास र एनआरएनएलाई पठाएको पत्रमा आफूहरु ११ महिनादेखि बिना कसुर जेलमा फसेको उल्लेख गरेका छन्।
‘हामीहरु फरक–फरक एजेण्टमार्फत भिजिट भिसामा आएका थियौँ। इन्टर सिटीमा रहेको एक चाइनिज व्यक्तिले भिसा लगाइदिन्छु भन्दै ८ महिनासम्म बन्धक बनाएर राखेको थियो,’ उनीहरुले भनेका छन्।
दुबई पुगेपछि इन्टरनेट सिटीमा चिनियाँ नागरिकले एउटा भिल्लामा खाना बनाउने, सरसफाइ गर्ने आदि काम दिएको र घर बाहिर कतै जान नदिएको उनीहरुले बताएका छन्।
‘हामीमध्ये कोहि राति भागेर अलपत्र परेका थियौं र भाग्न नसक्ने त्यही बसेर काम गरिरहेका थियौँ,’ पीडितहरुको भनाइ छ, ‘चिनियाँ नागरिक के गर्थे हामीलाई थाहा हुन्नथियो।’
त्यहाँबाट भाग्ने प्रयास गरेको तर, सफल नभएको उनीहरुको भनाइ छ।
‘भाग्ने कोसिस गर्दा पनि सकिरहेका थिएनौँ। पछि अचानक पुलिस आएर समातेर लग्यो,’ उनीहरुले भनेका छन्।
उनीहरुले आफूहरु निर्दोष भएकाले उद्दार गरिदिन दूतावास र एनआएनएसमक्ष याचाना गरेका छन्।
‘हामी निर्दोष छौं। हामीलाई न्याय दिलाइदिनुस्,’ उनीहरुले पत्रमा भनेका छन्।
पीडितहरुका अनुसार अहिले १ सयजना चिनियाँ नागरिकहरू पनि आफूहरुसँगै जेलमा छन्।
उनीहरू कसरी र कोमार्फत् चिनियाँ नागरिकको सम्पर्कमा पुगे भन्नेबारे थप जानकारी खुल्न बाँकी छ।
उनीहरूलाई यूएईको साइबर कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको आशंका गरिएको छ।
ताजा अपडेट

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?
