चुनावमा माओवादीले हार्‍यो भने देशै खतरामा जानसक्छ : प्रचण्ड

चुनावमा माओवादीले हार्‍यो भने देशै खतरामा जानसक्छ : प्रचण्ड फाइल फोटो

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आन्तरिक व्यवस्थापन हुन नसक्दा माओवादीले जनमत गुमाएको बताएका छन्।

‘हाम्रो आन्तरिक व्यवस्थापन हुन नसक्दा हामीले हिमाल, पहाड, तराइ मधेस सबैतिर जनमत गुमायौं। नत्र हामी पहिलो कम्युनिस्ट भइसक्थ्यौं’, माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृती दिवसका अवसरमा बोल्दै प्रचण्डले भने, ‘कुनै व्यक्ति जिताउने होइन पार्टीलाई जिताउने कि हराउने भन्ने हो। यति सानो सत्यलाई स्विकार्दै हामी चुनावमा गयौं भने हामी जित्छौं।’

उनले स्थानीय तहको निर्वाचनमा माओवादीलाई राम्रै भोट आएको र अबको निर्वाचनमा पनि पहिलो कम्युनिष्ट पार्टी हुने हिसावले चुनावमा खट्न निर्देशन पनि दिए।

‘जनताले हामीलाई स्थानीय तहको निर्वाचनमा मत दिएकै छन्। अब संघीय प्रदेशसभाको निर्वाचनमा हामी पहिलो कम्युनिष्ट पार्टी हुनैपर्छ’ उनले भने ‘होइन हामी आआफ्नो स्वार्थमा मात्रै चल्ने र पार्टीको निर्णयविपरीत आफ्नोमात्रै सर्वोपरी ठान्यौं भने हामी त कमजोर हुन्छौं नै राष्ट्र नै खतरामा जानेछ। संविधान नै खलबलिने अवस्था छ।’