म्यानमार-थाइल्याण्डमा रहेका नेपालीलाई पनि एनआरएनसरह पहिचान दिन संसदमा माग
काठमाडौं। एसियाका विभिन्न देशहरूमा पुस्तौंदेखि बसोबास गर्दै आएका नेपालीलाई पनि गैरआवासीय नेपालीलाई जस्तै परिचयपत्र दिन संसदमा माग उठेको छ।
नेकपा एमालेका सांसद डा. सूर्य पाठकले पुस्तौदेखि त्यहाँ बसेका नेपालीलाई नेपालसँग जोड्नका लागि नेपाली पहिचान पनि दिन माग गरेका हुन्।
खासगरी दोस्रो विश्वयुद्धका बेला गोर्खा सैनिक र उनीहरुका परिवार म्यानमार, थाइल्याण्ड, भुटान, मलेसिया, सिंगापुर र फिजीलगायतका देशहरूसम्म पुगेका थिए।
त्यो पुस्तादेखि उतै बसोबास गर्दै आएका नेपालीलाई अहिले त्यहाँको सरकारले एउटा परिचय पत्र दिएको छ। पिपुल अफ नेपाली ओरिजिन अर्थात् पिएनओ भनेर चिनिने यो परिचयपत्र पनि धेरैपछि मात्रै नेपालीले पाउन थालेका हुन्।
‘ती परिचयपत्रमा गोर्खा वा नेपाली भनेर लेखिएको छ। जसले उहाँहरू नेपाली मूलको हो भन्ने पुष्टि हुन्छ। ती ठाउँमा रहेका नेपाली मूलका नागरिकहरूले नेपालको सामाजिक रीति, भाषा, संस्कृति, भेषभूसा, परम्परा र मूल्यमान्यतालाई जोगाइ राख्नुभएको छ’, संसदको शून्य समयमा बोल्दै सांसाद पाठकले भने, ‘आफ्ना सन्ततीलाई मातृभुमिप्रतिको प्रेम र स्नेह जागृत गराउनका लागि नेपाली भाषामा पोख्त गराउनु भएको छ। मन–मनमा नेपाल छ भनेर बसिरहेका उहाँहरू आफ्नो मातृभूमि नेपालसँग जोडिन चाहिरनुभएको छ।’
पुस्तैनी साइनो रहेका ती नेपालीलाई पनि सम्मान गर्न र अरू गैरआवासीय नेपालीलाई जस्तै नेपालसँग जोड्न पनि सांसद पाठकले माग गरे।
‘त्यसका लागि सरकारले एनआरएनलाई व्यवस्था गरे जस्तै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको परिचयपत्र दिइनुपर्ने उहाँहरूको माग छ’ उनले भने ‘त्यसैले मातृभूमि जोडिन चाहाने उहाँहरूको भावनालाई सम्मान गर्दै पिएनओलाई पनि एनआरएनलाई जस्तै परिचयपत्र उपलब्ध गराइनुपर्छ, गराइयोस्।’