एनआरएनएको बाटो :  कस्तो र कति सजिलो ?

एनआरएनएको बाटो :  कस्तो र कति सजिलो ?

एनआरएनएमा म नयाँ छु। यी ब्याख्या र विश्लेषणहरू मेरा स्वतन्त्र आँखाबाट गरिएका हुन्। यो कुनै सर्वेक्षण वा प्रतिवेदनको विश्लेषण होइन।

म एनआरएनको सचिवालयमा जोडिएको धेरै भएको छैन। यसभन्दा अघि म करिव २० वर्षजत्ति विकाससँग सम्बन्धित परियोजनाहरूमा थिएँ, विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा।

अहिले एनआरएनएमा किन यस्तो द्वन्द्व भइरहेको छ ? डायस्पोराका थुप्रै मुद्दाहरू छन् जो अहिलेसम्म पूर्णरूपमा सम्बोधन हुन सकेका छैनन्। हामीले केही गर्न सकिरहेका छौं कि गरिरहेका छैनौं वा गर्न सकेका छैनौं भन्ने प्रश्नहरू धेरै सुनिने गरेको छ।

मैले यहाँ उल्लेख गर्ने धेरै शीर्षकहरूले सायद यी प्रश्नहरूको जवाफ दिनसक्छन्।

अहिले एनआरएनएको जुन डायस्पोरा छ। यो सुरूवाती घेरामा छ।

संस्थागत विकास प्रक्रियालाई हेर्ने हो भने हाम्रो अहिलेको डायस्पोरा भनेको रेमिट्यान्स पठाउने समुदाय मात्रै हो। यो कुरा हामीले बुझ्न जरुरी छ। अरू देशका डायस्पोराको विकास हेर्ने हो भने हामी निकै कमजोर अवस्थामा छौं।

नेपाली डायस्पोरा भर्खरै तन्नेरी हुँदैछ।

सुरूवातको चरण भएका कारण हामी पूर्ण क्षमतामा पुग्न बाँकी नै छ। त्यसका लागि हामीले अझै ५० औं वर्ष काम गर्नुपर्नेछ।

संघमा देखिने र हुनेगरेका आन्तरिक द्वन्द्वको एउटा कारण यो पनि हो। किनकि गर्न खोजेजति काम हामीले गर्न सकिरहेका छैनौं। स्रोत साधन सम्पन्न भइनसकेको अवस्थामा हरेक संस्थामा यस्तो स्थिति आउँछ।

कतिपय व्यक्ति अलि उपल्लो स्तरमा पुगेका हौंला तर, समग्ररूपमा हाम्रो डायस्पोरा तल्लै तहमा छ। यसलाई बुझ्ने हो भने संस्थामा देखिएका द्वन्द्वहरू विस्तारै सेलाउँदै जान्छन्।

एनआरएनएका बलिया आधार

ठूलो सञ्जाल अनि विश्वसनियता- मैलै आफ्नो आँखाले के पाइरहेको छु भने चार पाँच वटा कुराहरूले एनआरएनएलाई बलियो पार्न मदत गरिरहेका छन्। तीमध्ये एउटाचाहिँ एनआरएनएको वृहत सञ्जाल र यसप्रतिको विश्वसनियता हो। यो एकदमै महत्त्वपूर्ण पक्ष हो। एनआरएनएको लागि सबैभन्दा शक्ति यही नै हो। यसलाई हामीले सदुपयोग गर्नसक्नुपर्छ।

हामीले चाहेमा यो सजिलै गर्न पनि सक्छौं। किनभने एनआरएनएलाई सबैले सहजै विश्वास गर्छन्। यो पक्षलाई हामीले कसरी सदुपयोग गर्ने भन्ने कुरा महत्वपूर्ण छ। यसमा गहिरो छलफल र बहस जरुरी छ।

श्रोत र संगठनात्मक क्षमता- हामीसँग एकपल्ट बोल्दाखेरि करोडौ पैसा संकलन हुने अवस्था छ। यस्तो पटक पटक भइरहेको पनि छ। तर, त्यसको उदेश्य र लक्ष्यहरूको पहलकदमी प्रभावकारी हुन सकेको छैन। यसमा पनि हामीले ध्यान पुर्‍याउन जरूरी छ।

स्वयंमसेवा र पहुँच- संसारका विभिन्न ८५ मुलुकमा हाम्रो संगठन निर्माण भएको छ। हरेक देशमा हाम्रा सदस्य छन्। त्यसैले हाम्रो हरेक देशमा पँहुच छ। हाम्रो संगठन भएका देशका सरकारहरूलाई प्रभावित गर्न सक्यौँ भने पनि हामीले धेरै कुरा गर्न सक्छौँ। यो पहुँच र सञ्जाल भनेको चानचुने कुरा होइन। युएनको पनि यत्ति ठूलो नेर्टवक छैन।

नागरिकको विश्वास- सबैले एनआरएनए भनेपछि विश्वास गर्छन्। केही आलोचनाहरू हुनसक्छन् तर, अहिले पनि एनआरएनए भनेपछि विश्वास गर्नेहरू धेरै छन्। यो विश्वास हाम्रा लागि अर्को ठूलो शक्ति हो। यसलाई हामीले गुमाउनु हुन्न।

फराकिलो दायरा- हामीले काम गर्ने दायराहरू सिमित छैनन्। र, साँघुरा पनि छैनन्। हामीले जुनसुकै मुद्दा वा सवाल अनि जुनसुकै क्षेत्रमा पनि काम गर्नसक्छौं। एनआरएनएमात्रै एउटा त्यस्तो संस्था हाे जसले बिना रोकटोक हरेक क्षेत्रमा काम गरिरहेको छ।

परोपकारका काम होउन् वा विकास निर्माणका। गैरनाफामूलक काममा एनआरएनएको दायरा निकै फराकिलो छ। जस्तो कि सेभ द चिल्ड्रेन भनेको बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था भनेर चिनिन्छ। अनि डब्ल्युएचओ भनेको–स्वास्थय क्षेत्रमा काम गर्ने संस्था भनेर बुझिन्छ। तर, एनआरएनएको दायरा एउटामात्रै छैन।

यसका दायरा व्यापक छन् र काम गर्नसक्ने क्षेत्रहरू धेरै छन्। त्यसैले एनआरएनएले चाह्यो भने जुनसुकै क्षेत्रमा जुनसुकै काम पनि गर्नसक्छ। यो अवसरको फाइदा हामीले सक्दो सदुपयोग गर्नुपर्छ। जसले एनआरएनएको गतिशिलता बढाउँछ।

कमजोर पक्ष

यति हुँदाहुँदै यो भित्र केही कमजोरीहरू छन्। हरेक संस्थाका बलिया र कमजोर पक्षहरू हुन्छन्।

योजनागत प्रणालीको अभाव हामीसँग काम गर्ने क्षमता छ। पैसा पनि हुन्छ। तर, ती कामहरू योजनागत रूपमा भइरहेका छैनन्। जसले हामीलाई संस्थागत हुन अप्ठ्यारो पारिरहेको छ।

धेरै भावना, दिगोपनको कमी उसै पनि स्वदेशसँग भावनाको साइनो हुन्छ। देशमा केही आपतविपत् भइहाल्यो भने हाम्रो राष्ट्रिय भावना जागृत भइहाल्छ। यो स्वभाविक पनि हो। तर, धेरै भावनामा बग्दा संस्थाका कामहरूको दीगोपन देखिँदैन।

तथ्याङ्कमा आधारित व्यवस्थापन संस्थालाई व्यवस्थापन गर्न र हरेक क्रियाकलापहरूलाई संस्थागत गर्नका लागि तथ्याङ्क चाहिन्छ। त्यसका अभिलेखहरू चाहिन्छ। अबको आधुनिक युगमा तथ्याङ्कमा आधारित व्यवस्थापनको जरूरी छ। जसले संस्थाका कामहरूलाई दीर्घकालसम्म पनि देखाइरहन्छ।

स्वयंसेवक परिचालन र व्यवस्थापन हरेक राष्ट्रमा एनआरएनएका सदस्याहरू छन्। संस्थामा जोडिएका हज्जारौं मानिस छन्। विश्वव्यापी यस्तो संस्थाका लागि यी सदस्य भनेका स्वंयसेवकहरू नै हुन्। जसलाई एकै अपिलमा हामीले हरेक कामका लागि तयार पार्न सक्छौं। तर, त्यसको परिचालन र व्यवस्थापन संस्थागत गर्न जरूरी छ।

दीर्घकालीन कार्ययोजना र स्रोतकाे अभाव हामीले काम गर्छौं र गरिरहेका छौं तर, त्यसको कुनै योजनाहरू हुँदैनन्। कुनै काम अपर्झट गर्छौं तर, त्यसपछि के हुने र के गर्ने भन्ने कुनै टुङ्गो हुँदैन। अनि त्यसै कारण पनि स्रोत साधनको सुनिश्चितता हुनसक्दैन। यसले हाम्रा गतिविधिहरूलाई दीगोपन दिँदैन।

आधारविनाका निर्णयहरू संस्थागत कामका लागि निर्णयहरू पनि संस्थागत नै हुनुपर्छ। काम गरिसकेपछि निर्णय गर्ने कि निर्णयका आधारमा काम गर्ने ? ती आधारहरूको धरातल कति बलिया छन् भन्ने कुरालाई पनि ख्याल गर्नुपर्ने हुन्छ।

ढिलासुस्ती कुनै कामको निर्णय र त्यसको कार्यान्वयनबीच तादम्यता चाहिन्छ। निर्णय गर्ने अनि कार्यान्वयनमा ढिलाइ हुने परम्पराले संस्थाको विश्वास पनि कमजोर हुँदै जान्छ र नेतृत्व क्षमतामा ह्रास पनि आउनसक्छ।

चेन अफ कमाण्डको अभाव हरेक संस्थामा चेन अफ कमाण्डको भूमिका महत्वपूर्ण हुन्छ। त्यसमा पनि अझ एनआरएनएजस्तो विश्वभरि फैलिएको एउटा संस्थामा यसको महत्व निकै हुन्छ।

नेतृत्वको निर्णय क्षमता र आफ्नो समूहको परिचालन कस्तो हुन्छ भन्ने कुराले संस्थाको विकासमा मदत गर्छ। चेन अफ कमाण्ड भएन भने यति ठूलो सञ्जाल भद्रगोल हुनसक्छ र भनेका कामहरू गर्न सकिँदैन। त्यसैले संस्थागत निर्णयलाई हरेकले पालना गर्न र गराउनैपर्छ।

अवसर

एनआरएनएसँग विश्वव्यापी सञ्जाल छ। दक्ष जनशक्ति छ। काम गर्ने क्षेत्रहरू छन्। त्यसका आधारहरू छन्। स्रोत साधन जुटाउन पनि सम्भव छ। त्यसैले यसका वृहत सम्भावनाहरू पनि छन्।

–सन्चार माध्यमको पहुँच

–नीति कार्यान्वयनको लागि राजनीतिक र संस्थागत सम्बन्ध

– साझेदारीका लागि संस्थागत कोषको सम्भाव्यता

–डायस्पोराको अपेक्षा र तत्परताको सम्बोधन

– विधिध प्रतिभाको खोजी र त्यसको व्यावसायिकरण

– स्वंयसेवकहरूको व्यवस्थापन र पहुँच निर्माण

– विकास साझेदारी

–अनुभव र दक्षताको परिचालन

चुनौती

अवसर र चुनौतीहरू सँगसँगै आउँछन् र सँगसँगै सामना गरिन्छन्। एनआरएनएसँग वृहत अवसर हुँदाहुँदै त्यसका धेरै चुनौतीहरू पनि छन्।

जस्तो कि नेपालमा काम गर्दा नियम कानुनहरू झन्झटिला छन्। राजनीतिक वातावरण अनुकुल हुँदैन। लगानीको वातावरण अझै सुरक्षित भइसकेको छैन। सामूहिकतामा विश्वासको कमी हुन्छ। अझ आन्तरिक द्वन्द्वले त्यसलाई झन मलजल गरिरहेको हुन्छ।

स्रोत साधनको सुनिश्चिता नहुँदा गरिएका कतिपय प्रतिवद्धताहरू पूरा हुन सक्दैनन्। अनि अर्को चुनौती भनेको समयको व्यवस्थापन हो। झन्झटिला प्रक्रियाहरूले त्यसलाई झन् अल्झाइरहेका हुन्छन्।

अब केन्द्रित हुनुपर्ने मुद्दाहरू

श्रम मुद्दा- यसमा श्रमिकका समस्याहरू तमाम छन्। जस्तो कि विदेशमा अवैधानिक भएका श्रमिकका समस्याहरू छन्।

कारागारमा नेपाली श्रमिकका मुद्दाहरू छन्। आत्महत्या विदेशमा बढिरहेको छ। त्यसको न्यूनिकरणका लागि एनआरएनएले पहलकदमी उठाउन जरुरी छ। घरेलु तथा श्रमिक महिलाका मुद्दाहरू उत्तिकै जटिल छन्।

रेमिट्यान्सलाई व्यवस्थित र सरकारको औपचारिक प्रणालीमा ल्याउनका लागि पनि एनआरएनएले ध्यान दिन जरुरी छ। किनकि यसमा श्रमिकको हित जोडिएको हुन्छ। त्यस्तै विद्यार्थी भिषाका समस्याहरू सम्बोधन गर्न र गराउन, पीएनओहरूको मुद्दा समाधानका लागि पनि एनआरएनए केन्द्रित हुन जरुरी छ।

विदेशबाट फर्किएकाहरूलाई स्वदेशमै स्थापित गर्न वा उनिहरूको क्षमता अभिवृद्धिका योजनाहरू सञ्चालन गर्न सकिन्छ। विदेशमा बस्ने नेपालीको सामाजिक सुरक्षा ग्यारेन्टी र स्वास्थ्य विमा लागू गराउनका लागि एनआरएनएले शसक्त आवाज उठाउनुपर्छ।

संस्थालाई दीगो र प्रभावकारी बनाउनका लागि अरू पनि थुप्रै कामहरू गर्नुपर्ने हुन्छ। प्रणालीगत सुधार गर्दै एआरएनएलाई अझ विश्वासिलो र बलियो बनाउँदै लैजानुपर्छ।

विशुद्ध गैरनाफामूलक र एउटा गैरराजनीतिक वृहत संस्थाको रूपमा स्थापित गर्न विश्वभरि छरिएर पनि एउटै छातामुनि उभिएका तमाम नेपालीले अहिलेदेखि नै प्रयास गरौं।

(अधिकारी गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्।)