४७ हजार जनसंख्या भएको देशले गर्यो नेपालमा १४ अर्ब लगानी

४७ हजार जनसंख्या भएको देशले गर्यो नेपालमा  १४ अर्ब लगानी

काठमाडौं। सेन्ट किट्स एण्ड नेभिस – एउटा टापु देश हो, जुन वेस्ट इन्डिज क्षेत्रमा छ। यो देशको नाम अधिकांश नेपालले सुनेकै छैनन्।

सुन्दा अचम्म लाग्नसक्छ, जुन देशको नाम अधिकांश नेपालीले सुनेकै छैनन् त्यही देशबाट नेपाएमा साढे १४ अर्ब रुपैयाँभन्दा बढीको लगानी आएको छ।

हो, सेन्ट किट्स एण्ड नेभिस देशबाट आर्थिक वर्ष २०७७/७८ सम्ममा नेपालमा १४ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ उक्त कुरा समेटिएको छ।

प्रतिवेदन अनुसार २०७८ असार मसान्तसम्मा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी क्रमसः भारतबाट ७५ अर्ब ८१ करोड रुपैयाँ, चीनबाट ३३ अर्ब रुपैयाँ, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड रुपैयाँ, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड रुपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ रहेको देखिन्छ।

नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी गर्नेको सूचीमा सेन्ट किट्स एण्ड नेभिस पाँचौं नम्बरमा रहेको छ। हालसम्म नेपालमा भएको प्रत्यक्ष वैदेशिक लगानीको ६.४ प्रतिशत हिस्सा सेन्ट किट्स एण्ड नेभिसको रहेको छ।

सेन्ट किट्स एण्ड नेभिसको क्षेत्रफल मात्र २६१ कीलोमिटर स्क्वायर छ जुन नेपालको क्षेत्रफलभन्दा ५६३ गुनाभन्दा बढीले सानो हो। सेन्ट किट्स एण्ड नेभिसको जनसंख्या करिव साढे ४७ हजार रहेको छ। यो भनेको नेपालको जनसंख्याभन्दा ६१३ गुनाले कम हो। सेन्ट किट्स एण्ड नेभिसको ८७.६ प्रतिशत जनसंख्या क्रिस्चियन रहेका छन्।

राष्ट्र बैंकका अनुसार सेन्ट किट्स एण्ड नेभिसबाट नेपाल भएको सबै प्रत्यक्ष वैदेशिक लगानी सेवा क्षेत्रमा भएको छ।