विदेशमा बस्ने नेपालीलाई आइपिओमा १० प्रतिशत आरक्षण

विदेशमा बस्ने नेपालीलाई आइपिओमा १० प्रतिशत आरक्षण फाइल फोटो : वैदेशिक रोजगारीमा जान त्रिभुवन विमानस्थलमा श्रमिक

काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीले आइपिओमा १० प्रतिशत आरक्षण पाउने सुनिश्चित भएको छ।

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन (छैठौं संशोधन) नियमावली–२०७९’ जारी गरेसँगै बजेटले घोषणा गरेको आरक्षण सुरक्षित भएको हो।

सरकारले बजेटमार्फत वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा १० प्रतिशत आरक्षण दिने घोषणा गरेको हो।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले मात्र यो आरक्षण पाउने छन्।

अन्य भिषामा गएका नेपालीले भने यस्तो आरक्षण पाउने छैनन्।

आईपीओमा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक वा वित्तीय संस्थामा रहेको रेमिट्यान्स (विप्रेषण) बचत खातामार्फत मात्रै भुक्तानी गर्नुपर्ने छ।

वैदेशिक रोजगारीमा रहेका युवालाई छुट्याइएको सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारण समूहमा थप जारी गर्नुपर्ने प्रावधान ल्याइएकोे छ।

सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन गरेको शेयर बाँडफाँड भएको मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ।

तर, प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल, हेज फण्ड वा यस्तै प्रकारको कोषको रुपमा बोर्डमा वा विदेशमा दर्ता भएको कोषको स्वामित्वमा रहेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन गरेको शेयर बाँडफाँड भएको मितिले एक वर्षको अवधि पूरा भएपश्चात् बिक्री गर्न पाइन्छ।