शहरमा समेत होमस्टे विकास गराउने पर्यटनमन्त्री श्रेष्ठको योजना
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको विकास गर्न ग्रामिण क्षेत्रसँगै शहरी क्षेत्रमा समेत स्थानीय घरवास (होमस्टे) सञ्चालन गर्न सकिने बताएका छन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले नागार्जुन नगरपालिकामा आयोजना गरेको होमस्टे सञ्चालन तालिम उद्घाटन गर्दै मन्त्री श्रेष्ठले शहरी क्षेत्रमा रहेका घरहरुमा समेत आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवा बापत निश्चीत रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिने बताए। आफ्ना पाहुनालाई आतिथ्य गर्न घरघरमा रहेका खाली कोठालाई व्यवस्थापन गरी आर्थिक उपार्जन गर्न सकिने उनको भनाइ छ।
स्थानीय समुदायको आर्थिक विकासका लागि होमस्टेलाई प्रवर्द्धन गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए। स्थानीय जीवनशैली,संस्कृति तथा कलाको प्रवर्द्धन गर्न समेत होमस्टेले सहयोग पुर्याउने उनले बताए। स्थानीय समाज, रहनसहन, संस्कृति र बोलीचालीलाई नजिकबाट साक्षात्कार गर्न चाहने पर्यटकको रोजाइमा होमस्टे पर्ने भएकोले शहरी क्षेत्रमा समेत यसको सम्भावना रहेको उनले बताउए। पर्यटकीय सम्भावना भएका गाउँ–शहरको पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई उपयोग गर्नुपर्ने उनको भनाइ छ।
नागार्जुन नगरपालिकाको शरणपुर क्षेत्र पर्यटकीय सम्भावनायुक्त क्षेत्र भएकोले सो क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय पर्यटनको सम्भावना उजागर गर्न होमस्टे तालिम आयोजना गरिएको हो। कार्यक्रममा नगरपालिकाका प्रवक्ता महेश रिमालले नागार्जुन क्षेत्रमा होमस्टे सञ्चालनका लागि तयारी गरिएको जानकारी दिदै स्थानीय सरकारले पनि पर्यटन प्रबर्द्धनका लागि होमस्टेलाई प्राथमिकता दिएको बताए। शरणपुर नमुना वस्ती विकास समितिका अध्यक्ष तुलसी थापाले स्थानीय पर्यटन प्रवर्द्धनमा होमस्टेले सघाउ पुर्याउने विश्वास व्यक्त गरे। तालिममा अतिथि सत्कार, बजारीकरण, व्यवस्थापन र खाना बनाउन सिकाउनुका साथै होमस्टे संचालन सम्वन्धी कानुनी तथा अन्य व्यवस्थाहरुबारे प्रशिक्षकहरुले तालिम दिनेछन्। तालिममा ३५ जना स्थानीय बासिन्दा सहभागि छन्।