सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन
काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन बनेको छ।
सिट बाँडफाँटका लागि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन टुंगिएको हो।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बैठकमा तालमेलबारे समीक्षा भएको बताए।
उनले सोमबार बस्ने बैठकबाट सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने सहमति भएको जानकारी दिए।
‘तालमेलबारे गम्भीर समीक्षा गरेका छौं। बैठकमा कार्यदलले आफ्नो रिपोर्टिङ गरेको छ,’ खनालले भने,‘कार्यदलले कैयौं कुरा मिलाइसकेको छ। बाँकी रहेका कुरा भोलि बसेर हामी टुंग्याउँछौं।’
गठबन्धनको बैठक सोमबार बिहान ८ बजे बोलाइएको छ।
२२ साउनमा बसेको गठबन्धनको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरे पनि अहिलेसम्म सिट बाँडफाँटका लागि सहमति जुटाउन सकेको छैन।
सिट बाँडफाँटमा सहमति जुटाउन गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलसमेत निष्कर्षमा पुग्न नसकेपछि पछिल्लो समय शीर्ष नेताहरू आफैं छलफलमा जुटेका छन्।
यसबीचमा पटक–पटक शीर्ष नेताहरूको बैठक भए पनि सिट बाँडफाँटका लागि सहमति जुट्न सकेको छैन।
घटक दलहरू आ–आफ्नो अडानबाट पछि नहटेपछि सिट बाँडफाँटका लागि सहमति जुट्न नसकेको हो।
गठबन्धनमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेको छ।