सन्दीप अध्यागमनको कालोसूचीमा

सन्दीप अध्यागमनको कालोसूचीमा File Photo

काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान सन्दीप लामिछानेलाई अध्यागमनले कालोसूचीमा राखेको छ।

किशोरीलाई बलात्कार गरेको आरोपमा पक्रउ पुर्जी जारी भएपछि अध्यागमनले लामिछानेलाई कालोसूचीमा राखेको हो।

पक्राउ पुर्जी जारी भएकाले उनलाई कालोसूचीमा राखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी श्यामलाल ज्ञवालीले बताए।

लामिछानेले होटलमा लगेर पटक–पटक आफ्नो बलात्कार गरेको आरोप लगाउँदै १७ वर्षीया एक किशोरीले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन्।

किशोरीले दिएको किटानी जाहेरीपछि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ।

किशोरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले होटलबाट सिसिटिभी फुटेजलगायतका प्रमाणहरू संकलन गरेको छ।

पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिसकेको छ।

क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिजको सेन्ट लुसियामा रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको दाबी गर्दै चाँडै नेपाल फर्कने बताएका छन्।