नवौं राष्ट्रिय खेलकुद : एनआरएनएको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुद : एनआरएनएको विजयी सुरुवात

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उद्घाटन खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गरेको छ।

वर्षाकाकारण ६ ओभरमा छोटाइएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको एनआरएनएले निर्धारित ६ ओभरको खेलमा ४ विकेट गुमाउँदै ७४ रन बनायो।

टोलीका लागि सागर पुनले १९ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४६ रनको अविजित पारी खेले।

संघका कप्तान सुनाम गौतमले ११ बलमा ३ चौका र १ छक्कासहित २४ रन बनाए। सुदूरपश्चिमका लागि हेमन्त धामी र शेर मल्लले दुई दुई विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ६ ओभरमा ६ विकेट गुमाउँदै मात्र ६२ रन जोड्यो।

ओपनर खडक बोहोराले १२, राजु रिजालले ११ तथा वसन्त खत्रीले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एनआरएनएका लागि आशिष पोखरेल र दीपक क्षेत्रीले ३९३ विकेट लिए ।

रोजगारीको लागि विदेश बस्न बाध्य नेपाली खेलाडीहरूलाई पनि राष्ट्रिय खेलकुदमा आवद्ध गराउने मुख्य उद्देश्यका साथ संघले ‘एनआरएनए स्पोर्ट एकेडेमी’को स्थापना गरेको थियो।यहि प्रतिष्ठानमार्फत संघले खेलकुद गतिविधिलाई अगाडी बढाइरहेको छ।

आठौं राष्ट्रिय खेलकुदमा पनि संघले सहभागिता जनाएको थियो।