कर्मचारीलाई तलब दिन पनि विदेशबाट माग्नुपर्ने अवस्था आयो : प्रधानमन्त्री देउवा

कर्मचारीलाई तलब दिन पनि विदेशबाट माग्नुपर्ने अवस्था आयो : प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई तलब दिन पनि विदेशबाट माग्नुपर्ने अवस्था भएको बताएका छन्।

निजामती सेवा दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा देउवाले देशको आम्दानी नहुँदा कर्मचारीहरूलाई पनि विदेशबाट मागेर तलब दिनुपर्ने बेला आएको बताएका हुन्।

स्थायी सरकार कर्मचारी रहेको बताउँदै कर्मचारीहरूले काम नगरे देश अगाडि बढ्न नसक्ने जिकिर गरे।

‘कर्मचारीहरू नै स्थायी सरकार हुन्। राजनीतिक दलहरूले मात्रै गरेर केही हुँदैन,’ देउवाले भने, ‘अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरूलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको छ।’

कर्मचारीको सहयोगविना देशको विकास हुन नसक्ने बताउँदै उनले देशको दुर्गती के कारणले भएको भन्ने कारण पहिल्याउन जरूरी रहेको उल्लेख गरे।

‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको विकास हुँदैन। सत्य कुरा हो। अस्थायी सरकार हो, यो अब जनताले भोट हाले भने अर्को आउँछ,’ देउवाले भने,‘यो देशको दुर्गती हुनुको जिम्मेवार को हो ? राजनीतिक दलहरू मात्रै हो कि ब्युरोक्रेसी पनि होरु किन काम भइरहेको छैन ? व्यापक छलफल गरौं।’

आफूहरू पाँच वर्षका लागि मात्रै भए पनि कर्मचारीहरू स्थायी रहिरहने उनको भनाइ छ। देउवाले भने, हामी त ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो। तपाईंहरू त पेन्ससम्म हुनुहुन्छ नि ! काम नै भएको छैन, दुर्गती छ, देशको।’

कर्मचारीहरू दूर्गम क्षेत्रमा जान नचाहने कारणले पनि काम अघि बढ्न नसकेको बताए। स्थानीय, प्रदेस र केन्द्रीय कर्मचारीतन्त्र रहँदा पनि देश विकास हुन नसकेको देउवाको गुनासो छ।

‘दूर्गममा कर्मचारी जाँदैनन्, साइन गर्छ फर्किहाल्छ। बस्दै बस्दैछनन्। देशको दुर्गती भइरहेको छ, केही काम भएको छैन। एउटा बाटो बनाउन लाग्यो भने २५ वर्षसम्म काम सकिन्न। देशभरको अवस्था त्यस्तै छ,’ देउवाले भने,‘पोलिसीले मात्रै केही हुनेवाला छैन, ब्युरोक्रेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्न सक्दैन। स्थायी सरकारले काम गर्दैन के गर्ने ?’

जनताको सेवा गर्ने पहिलो माध्यम ब्युरोक्रेसी रहेको बताउँदै उनले जिम्मेवार भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।

‘जनताको सेवा गर्ने पहिलो माध्यम त ब्युरोक्रेसी हो नि ! उसले गर्दैन त कसरी देश बन्छ,’ उनले भने,‘अस्पतालमा डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ। सिडिओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ। सबै जिम्मेवार हुनुपर्छ। जनताले भोटले पत्याए हो नत्र त हामी गइहाल्छौं नि !’