एनआरएनएको सचिवालयमै पुगेर राजदूतले भनिन्– श्रीलंकामा पनि यस्तै संस्था चाहिएको छ

एनआरएनएको सचिवालयमै पुगेर राजदूतले भनिन्– श्रीलंकामा पनि यस्तै संस्था चाहिएको छ

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय प्रतिनिधि र श्रीलंकाली राजदूतबीच भेटवार्ता भएको छ।

संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रवीना थापा र नेपालका लागि श्रीलंकाकी राजदूत हिमाली अरुणतिलबीच बुधवार भेटवार्ता भएको हो।

संघका पदाधिकारीसँग छलफल गर्न राजदूत अरुणलिका र कन्सुलर निलुसा दिलमीनी संघको वालुवाटारस्थित सचिवालयमै पुगेका थिए।

उनीहरुलाई संघका कार्यकारी अध्यक्ष आचार्य, अध्यक्ष थापा र सचिवालय प्रमुख रवीकिरण अधिकारीले स्वागत गरेका थिए।

भेटमा राजदूत अरुणतिलकाले नेपालमा एनआरएनएको स्थापना, उद्देश्य तथा यसको विश्वव्यापी संजालको विषयमा विशेष चासो व्यक्त गरेको संघको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार उनको भम्रण श्रीलंकामा पनि यस्तै छाता संगठनमार्फत गैरआवासीयहरुलाई एकीकृत गरी विकास साझेदारको मुल प्रवाहमा कसरी ल्याउन सकिन्छ भन्नेमा केन्द्रित थियो।

राजदूत अरुणतिलकाले संघले आफ्नो संजाल विस्तार र नेपालको समृद्धिका लागि गरेको प्रयास सिक्न लायक भएको बताउँदै प्रशंसा समेत गरिन्।

अब श्रीलंकमा पनि यस्तै संजाल बनाउन सरकारले प्रयास गर्ने उनले बताइन्।

संघका कार्यकारी अध्यक्ष आचार्य, अध्यक्ष थापा, उपाध्यक्ष डि.बी क्षेत्रीलगायतका पदाधिकारीहरुले संघले संगठन विस्तारमा गरेका प्रयास, नेपालको विकासमा पुर्‍याएको योगदान र चुनौती विषयमा राजदूतलाई प्रकाश पारेका थिए।

अध्यक्षद्धयले गैरआवासीय नेपालीहरुले गरेको अभियानमा छिमेकी मुलुकले समेत चासो दिएकोमा राजदूतलाई धन्यावाद ज्ञापन गरे।